चिकित्सा शिक्षा विधेयकको विरुद्धमा आन्दोलनको औचित्य छैन – नेता नेपाल


 


पोखरा, माघ १२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार राष्ट्रिय चिकित्सा शिक्षा विधयेकको विरोध गर्नुमा कुनै तुक नभएको स्पष्ट पार्नुभएको छ । उहाले यसविरुद्ध आन्दोलनको पनि कुनै औचित्य नभएको बताउनु भयो । ‘संसदबाट चिकित्सा शिक्षा विधेयक विधिसम्मत पारित भएकाले त्यसविरुद्ध आन्दोलनको औचित्य छैन,’ नेता नेपालको भनाई छ ।

पोखरामा प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले कानूनमा चित्त नबुझे छलफल गरी समयक्रममा मिलाउन सकिने भएकाले आन्दोलनको बाटोमा नलाग्न प्रमुख प्रतिपक्ष कांग्रेसलाई आग्रह समेत गर्नुभयो । ‘हिजो कतिपय कानूनमा हामीलाई पनि चित्त बुझेको थिएन, तर हामी आन्दोलनमा गएनौँ,’ उहाँले भन्नुभयो, ‘देश विकासको काममा जुट्नु पर्ने बेला आन्दोलन गर्नु हुँदैन । ’

नेता नेपालले वायु सेवा निगमको वाइडबडी जहाज खरिद, ३३ किलो सुन काण्ड, बुढीकगण्डकी जलविद्युत आयोजना, आयल निगमको जग्गा खरिदमा लगायतमा अनियमितता भएको भए छानविन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने र गरिने समेत बताउनुभयो । दोषीलाई जोगाउने पक्षमा नेकपा नरहेको नेता नेपालले स्पष्ट पार्नुभयो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार संसदबाट पारित चिकित्सा शिक्षा विधेयकले उक्त क्षेत्रमा गुणात्मक सुधार गर्ने एउटा अभियानलाई नेतृत्व गर्ने बताउनुभयो ।

डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसारनै विधेयक आएको भन्दै सबै कुरा समावेश नभएको केसीको कुरामा संसदको छलफलमा सम्झौताको मुल पक्ष सही भएकाले स्वीकृत भएको उहाँको भनाई थियो । ‘विधेयक स्वीकार गर्ने कुरा संसदको सार्वभौम अधिकार हो’ उहाँले भन्नुभयो, ‘विधेयक पारित हुनुमा डा. केसी लगायत चिकित्सा क्षेत्र सुधारमा लाग्नेलाई धन्यवाद दिनुपर्छ । यसमा अरु राजनीतिक कुरा जोडिनु हुँदैन ।’

उहाँले नेकपाको नेतृत्व र सिंगो पार्टी पूर्ण रुपमा एकताबद्ध रहेको दाबी गर्नुभयो । सांगाठानिक एकीकरणको काम छिटो हुने भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएकोमा कुनै मतभेद नभई अरु प्रभावकारी बनाउन सकरात्मक रुपमा छलफल भइरहेको बताउनुभयो । कार्यक्रममा नेता नेपालले पार्टीमा कार्य विभाजन, केन्द्रीय निकाय गठन छिटै हुने र प्रदेशमा कोही छुटेको भए सम्मानजनक रुमपा ल्याइने जानकारी दिनुभयो ।

पार्टी विधि, प्रक्रिया, र मापदण्डका आधारमा नचले अराजकता निम्तिने भन्दै उनले कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा चल्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । नेकपा र अहिलेको सरकारसँग जनताको पूर्ण आशा र भरोसा रहेकाले सोही अनुसार चल्नुपर्नेमा नेता नेपालको जोड थियो ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्