यूएईसंग नेपालले आज दोस्रो खेल खेल्दै,दवावमा नेपाल


 


काठमाण्डौ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) संग नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि यूएई भ्रमणमा रहेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल र यूएईबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई यूएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल यूएईसंग ३ विकेटले पराजित भएको थियो । यूएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १ – ० ले अघि छ ।

नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकीएको थियो । नेदरल्याण्डसंगको खेलेको करिब ७ महिनापछि नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । नेपालले घरेलु टोलीसंग एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्