कर्णालीका उच्च हिमाली जिल्लामा १० बर्षयताकै उच्च हिमपात, तापक्रम माइनस ७ पुग्यो


 


काठमाडौं । कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा १० बर्ष यताकै उच्च हिमपात भएको छ । हिमपातका कारण जनजीवन अस्तब्यस्त भएको छ भने सडकहरु जाम भएका छन् । पानीका मुहान हिउँले पुरिएपछि खानेपानीको समेत अभाव देखिन थालेको छ ।

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, मुगु, हुम्ला र जुम्लामा करिव ४ फिट हिउँ जमेको छ । विगत १० बर्षयताकै उच्च हिमपात भएको जल तथा मौसम विभाग सुर्खेतले जनाएको छ । गत सोमवारदेखि लगातार हिमपात भइरहेका छ भने पहाडी र मधेस क्षेत्रमा बर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि विगत केही दिनदेखि मौसम बदली भइरहेको छ । सुदुरपश्चिमको बजुरा र कर्णालीका उच्च हिमाली क्षेत्रमा माइनस ७ डिग्रीसम्म तापक्रम पुगेको छ । अत्याधिक चिसोका कारण गाईबस्तु भोकभोकै भएका छन् भने मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि पछि फेरी बर्षा हुने सम्भवना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद्हरुले बताएका छन् ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्