एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग तीन विकेटले पराजित


 


काठमाण्डौँ, माघ ११

एक दिवसीय अन्र्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ ।

११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् ।

त्यस्तै, सोमपाल कामीले एक विकेट लिए । युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि यी दुई खेलाडीले उकासेका थिए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । यस्तै आरिफ शेखले २५, कप्तान पारश खड्काले २० र सन्दिप लामिछानेले १५ रन बनाएका थिए ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्