अमेरिकाको कदमबिरुद्ध प्रचण्डको कडा बिज्ञप्ती


 


काठमाण्डौँ, माघ ११

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति निकालेका छन् । अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको आरोप प्रचण्डको छ ।

प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिनुपर्ने पक्षमा नेकपा रहेको प्रचण्डले बताएका छन् । ‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ ।’

अमेरिकाले एक दशकदेखि भेनेजुयलामा अमानवीय आर्थिक बन्देजहरु लगाएर तथा सैनिक हस्क्षेपको त्राश देखाएर हिंसा र कोलाहल मच्चाउन खोजेको पनि प्रचण्डले उल्लेख गरेका छन् । यो राष्ट्रसंघको चार्टर र शान्तिपूर्ण सहअस्तित्वको सिद्दान्तर्लाइ गम्भीर चुनौति भएको उनको भनाइ छ ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्