दार्चुलामा हिउँदे वर्षाले जनवीवन कष्टकर
दार्चुला । दुई दिनदेखिको हिउँदे वर्षाका कारण हिमाल सेताम्य र सडक हिलाम्य भएका छन् । मंगलबार परिरहेको अविरल वर्षाका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमापात भएको छ भने वर्षाले गर्दा सडकहरू हिलाम्य भएका छन् ।
दुई दिनदेखि परिरहेको हिउँदे वर्षाका कारण दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रकै सडकहरू हिलाम्ये भएका छन् । नगरपालिका क्षेत्रसमेत रहेको महाकाली नगरपालिका–५ मोती क्षेत्रको सडक हिलैहिलोले पोतिएको छ । सडक हिलाम्य भएको उक्त सडक रहेको क्षेत्र नगर क्षेत्रले मात्रै छोएका छैन दार्चुला तिंकर सडकखण्ड अन्तर्गतको सडक हो । महाकाली कोरिडोरअन्तर्गत रहेको दार्चुला–तिंकर सडक खण्डको सडक तथा नगरपालिका क्षेत्रको सडक हिलैहिलोले पोतिएको स्थानीय नरेश अवस्थीले बताए ।
नगरपालिका तथा सदरमुकाम क्षेत्रको उक्त सडकखण्डमा कालोपत्रे गर्न नसकिएको हिउँदे वर्षा हँुदा यस्तो समस्या आएको हो । बेलैमा कालोपत्रे गरिएको भए यस्तो समस्या नआउने स्थानीयहरूको भनाइ छ । उक्त सडक भएर सवारी साधन तथा पैदल यात्रीहरूलाई समेत आवत्जावत् गर्न समस्या भएको छ ।
नगरपालिका क्षेत्र हुँदै विस्तार गरिएको दार्चुला–तिंकर सडक खण्डअन्तर्गत पर्ने उक्त सडक खण्ड जिल्ला सदरमुकाम खलंगा क्षेत्र भित्रकै हो । जिल्ला सदरमुकाम खलंगा क्षेत्रको यातायातको अवस्थाले सिंगो जिल्लाकै यातायातलाई छर्लंग पारिदिएको छ । जिल्लाका विभिन्न ग्रामीण सडकखण्डहरू पनि यसरी हिलैहिलो हुँदा सवारी साधनहरू सञ्चालन गर्नसमेत समस्या भएको मार्मा गाउँपालिकाका स्थानीय विक्रमसिंह महराले बताए ।
यातायात र सञ्चार अवरुद्ध
दुई दिनदेखि लगातर परेको हिमपात र वर्षाले जिल्लाको यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ । दार्चुलाको व्याँस र अपी हिमाल गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ भने दुहूँ, नौगाड र मार्मा क्षेत्रका उच्च पहाडी क्षेत्रका साथै सबै स्थानीय तहका उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
निरन्तरको हिमपात र वर्षाले जिल्लाको यातायत र सञ्चार पूर्णरूपमा प्रभावित भएको छ । सडक हिलाम्य भएपछि मार्मा, दुहूँ र नौगाड गाउँपालिकाको यातायात पूर्ण प्रभावित भएको छ भने महाकाली लोकमार्गमा पर्ने तेर्छालेक क्षेत्रमा हिमपात हुँदा यातायात सञ्चालन गर्न समस्या भएको छ ।
हिकिलादेखि खलंगासम्मको सडक गाडी नै गुडाउन नसकिने अवस्था भएकाले आफू हिँडेरै खलंगा पुगेको दुहुँ गाउँपालिका–२ हिकिलाका स्थानीय भवानसिह धामीले बताए । महाकाली नगरपालिका–२ मैखोली क्षेत्रमा सडक अवरुद्ध भएपछि नौगाडको यातायात पनि अवरुद्ध भएको छ । स्तरोन्नति हुन नसकेको सडक हिलाम्मे हुँदा जिप नै सञ्चालन गर्न नसकिने अवस्था आएको स्थानीय सागर डोबालले जानकारी दिए ।
महाकाली नगरपालिका क्षेत्रबाहेक अन्य स्थानीय तहमा सञ्चार अवरुद्ध भएको छ । स्टेसनहरूमा विद्युत् आपूर्ति हुन नसक्दा सञ्चार सेवा पनि प्रभावित भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिएका छन् ।
मंगलबारदेखि लगातर घाम नलागेका कारण सञ्चारमा समस्या आएको छ भने बैतडीको बित्थडमा समस्या आउँदा दार्चुला इन्टरनेट सेवासमेत पटकपटक अवरुद्ध हुने गरेको छ । निरन्तर वर्षा र हिमपात भए पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले बताए ।
प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार