कांग्रेस भन्छ–हिटलरसँग पनि दुई तिहाई थियो


 


काठमाडौं माघ १० सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डा. गोविन्द केसीले हावामा तरबार चलाउन खोजेको आरोप लगाउँदै चिकित्सा शिक्षा बिधेयक सरकारको रणनीति अनुसार जस्ताको तस्तै पारित हुने ठोकुवा गरेका छन्।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने ‘अधिनायकवाद भने भन्नुस्, दुईतिहाइको दम्भ भने भन्नुस्। विधेयक पारित हुन्छ। सरकारको रणनीति त्यही हो।’ विधेयकबारे संसदमा छलफल हुन नदिने तर हावामा तरबार चलाउने कुरो मान्य नहुने उनको भनाई थियो। मन्त्री बाँस्कोटले भने, ‘सरकारले प्रस्तुत गरेको विधेयक समितिबाट पास भएर आएको छ। यो अब प्रक्रियाबाट पास हुन्छ। हुनुपर्छ।’

उनले अस्पतालमा धर्ना र आन्दोलन गरेर कानुन नबन्ने बताए। उनले विधेयक संसदमा प्रस्तुत गर्न नदिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको पनि आरोप लगाए। ‘विधेयक पेस गर्न नदिने, वेल घेराउ गर्ने अनि सभामुखलाई घेर्ने यो कस्तो लोकतन्त्र हो?’ बाँस्कोटाले भने, ‘लोकतन्त्रमा प्रक्रिया हुन्छ, प्रक्रियाअनुसार छलफल हुन्छ। विधेयकबारे संसदमा छलफल हुनुपर्छ।’

यता, मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास गरे आफूहरु सशक्त रुपमा अघि बढ्ने चेतावनी दिएको छ। पार्टी कार्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई प्रतिक्षा गरेर निकास निकाल्नु नै अहिलेको उत्तम विकल्प भएको भन्दै जबर्जस्ती विधेयक पारित नगर्न सुझाव पनि दिए।

केदारभक्त माथेमाको संयोजकत्वमा गठन भएको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने, अघिल्लो सरकारले डा. केसीलाई सहमत गराएर ल्याएको अध्यादेश हुबहु पास गर्न पनि उनले सुझाव दिए। संसदमा उभिएर शालीन प्रदर्शन गर्न पाउनु पर्ने भन्दै उनले शुक्रबारको बैठकमा यतिकै नबस्ने पनि जानकारी गराए।

हिटलरसंग पनि दुई तिहाई बहुमत भएको स्मरण गर्दै प्रबक्ता शर्माले सरकारले हिटलरको जस्तो व्यवहार गर्न नहुने जिकिर गरे। त्यस्तै उनले आफ्ना नेताको नामबाट खोलिएको अस्पताललाई सरकारले बिघटनको स्वरुप दिन नहुने भन्दै यसमा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्