हत्या र बेश्याको जघन्य आरोपले बबिताको विवाह रोकियो


 


काठमाडौं निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सयौ ब्यक्ति शंकाको घेरामा परे । प्रहरी अनुसन्धानदेखि डीएनए परिक्षणसम्म भयो । तर सवैभन्दा चर्काे निशानामा कञ्चनपुरकै बम दिदीबहिनीहरु परे । एउटाले बिद्यालय छोडिन भने अर्की प्रहरीको थुनामा बसिन् । बिद्यालय छोड्नु र थुनामा बस्नुभन्दा ठुलो पीडा बेश्या, हत्याको आरोपले पोलिरहेको छ ।

प्रतिवेदन भोका अधिकारकर्मीहरुले समेत हचुवाको भरमा उनीहरुलाई निर्मलाका हत्यारा भनेर किटान गरेका छन् तर उनीहरु हत्यारा भएको प्रमाण न प्रहरी र छानविन समितिसँग छ नत अदालतले कसुरदार नै ठहर गरेको छ । भीडको बीचबाट उनीहरु बेश्या र हत्याका आरोपी बने । निर्मलाको आमालाई बम दिदीबहिनीले दिएको एक जवाफ नै उनीहरुका लागि अभिसाप सावित भयो ।

रोशनी निर्मलाको हत्यापछि बिद्यालय जान सकेकी छैनन् । बिद्यालयले अन्य बिद्यालयमा पढ्न जाने अनुमति पनि दिएको छैन । बिबिताले स्नातक दोस्रो बर्षको परिक्षामा समाबेश हुन पाइनन् । यतिमात्र होइन, बेश्या र हत्याको आरोपले उनको विवाह नै रोकिएको छ । ‘सरकारले हामीलाई यो आरोप लगाएको होइन, अधिकारकर्मी र मिडियाले लगाएका हुन् ।

उनीहरुले लगाएको आरोपले हामीलाई ज्यूदै मारेको छ भने जीवनभर भूल्न नसकिने पीडा दिएको छ’ बबिताले भनिन् ‘१२ साउनमा मेरो इंगेजमेन्ट भएको थियो, मंसिरको महिलो साता विवाह गर्ने कुरा थियो । तर मलाई यस्तो आरोप लाग्यो की विवाह नै गर्न नसकिने अबस्थामा पुग्यो ।’

बबितासँग इंगेजमेन्ट गरेको केटाको परिवारले अहिले विवाह गर्न मानेको छैन । ‘पहिले सत्य तथ्य पत्ता लागेस त्यसपछि सोचौला भन्ने जवाफ आएको छ’ बबिताले भनिन् ‘म पनि छिटो सत्यतथ्य पत्ता लगोस भन्ने पक्षमा छु । आरोपबाट म मुक्ति पाउने थिएँ ।’ निर्मलाको हत्यापछि बबिताको परिवार बन्दी बनेको छ । बिछिप्त मनहरु लिएर राजधानी काठमाडौं पनि न्याय माग्दै आए । तर न्याय माग्ने कोसँग ? उनीहरु आफै रनभुल्लमा परेका छन् ।

बबिता र रोशनीलाई छानविन समिति, प्रहरी र अदालतले कसुरदार नै ठहर गरे उनीहरुलाई कारवाही गर्न कुनै आँसुले रोक्ने छैन । तर बेकसुर ठहरिए दस्ताबेजका भोका अधिकारकर्मीलाई कुन कारवाही गर्ने ? आत्मआलोचनाले मात्र पुग्दैन, कारगारको बाटो देखाउनु नै पर्छ ।

जघन्य अपराधको घटनामा बम दिदीबहिनीमाथी अनुसन्धान हुन जायज हो । तर हत्यारा नै भएको भीडबाट दोषी करार गर्नु अर्काे अपराध हो । भीडले नै हत्यारा करार गर्दै जाने हो भने अदालतको ढोका बन्द गर्दा फरक पर्दैन । निर्मलालाई न्याय दिन कुनै आँखाबाट झरेका नौटकी आँशुले पनि छेक्नु हुन्दैन । किनकी निर्मलाको हत्यापछि उनको घरपनि बिग्रहमा पुगेको छ । विघटन भइसकेको निर्मलाको परिवामा शोकमात्र परेको छैन दुखका आँसुहरु झरिरहेका छन् ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्