पुनर्स्थापना केन्द्रमा सारीरिक यातनापछि सेवाग्राहीको मृत्यु, दुई सञ्चालक पक्राउ


 


ललितपुर, माघ १० ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । घिमिरेको गत माघ ६ गते मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको बताए । ‘घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला,’ डिएसपी मिश्रले भने ।

यता परिवारका सदस्यहरुले भने घिमिरेको मृत्यु नभई हत्या भएको दाबी गरेका छन् । घटना हेर्दा करेन्टको झड्कापछि उनको मृत्यु भएको हुन सक्ने मृतकका भतिज गान्धीवकुमार घिमिरेले बताए ।

घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला

‘हामीले मृतकको शरीर हेर्यौँ । हातखुट्टा जताततै नीलडाम देखिन्छ । करङ पनि भाँचिएको रहेछ । करेन्ट लगाएर उनको हत्या गरिएको हुन सक्ने हाम्रो अनुमान छ । पोस्टमार्टम रिपोर्ट अझै प्राप्त भएको छैन । हत्या नै भएको किटानीका साथ हामीले जाहेरी प्रहरी कार्यालयमा दर्ता गराएका छौँ । दुईजना समातिएका छन् । तर, घटना के हो अझै प्रहरीले खुलाउन सकेको छैन,’ उनले भने ।

गान्धिवकुमारका अनुसार प्रतिमहिना १५ हजार बुझाउने गरी मृतक घिमिरेलाई केन्द्रमा भर्ना गरिएको थियो । सुरुमा केन्द्रले ४५ हजार रुपैयाँ डिपोजिट मागे पनि पछि महिनाको अग्रिम रकम भन्दै १५ हजार रुपैयाँ लिएको थियो । पछिल्लो समय पुनस्थापन केन्द्रमा सेवाग्राहीलाई यातना दिने क्रम बढदै गएको छ ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्