आजदेखी शहीद सप्ताह मनाइँदै


 


काठमाडौँ, माघ १०

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि देशभर शहीद सप्ताह मनाइँदै छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

सप्ताहको पहिलो दिन आज बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्नुहुने कार्यक्रम छ । सालिक अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । माघ १५ गते मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ ।

माघ १६ गते बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका अधिकृत धनपति सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्