‘वाइडबडी’ जहाज खरिद प्रक्रिया गलत थियो, म सुधारमा लागेको छु : मन्त्री अधिकारी


 


बिर्तामोड,९ माघ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ‘वाइडबडी’ विमान खरिद गर्दा व्यापार योजना नै गलत भएको कारण निगमलाई ठूलो आर्थिक क्षति पुगेको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइडबडी’ विमान खरिद प्रकरणमा अघिल्लो सरकारकै पालामा खरिद प्रक्रिया गलत भएको बताउँदै अनियमिततामा आफ्नो संलग्नता नभएको बताउनुभयो ।

‘वाइडबडी खरिद गर्दा रकम दिने, सम्झौता, खरिद मिति तोक्ने र गुणस्तर पहिचान गर्ने कुरामा तत्कालिन सरकारले गलत निर्णय गरेकोले नियगमले ठूलो आर्थिक क्षति व्यर्होर्यो’ मन्त्री अधिकारीको भनाई थियो । ती सबै प्रक्रिया आफूले मन्त्रालय सम्हाल्नु भन्दा अघि नै सकेकाले यस प्रकरणमा वर्तमान सरकार दोषी छैन’ अधिकारीले स्पष्टिकरण दिए ।

मन्त्री अधिकारीले भने, ‘विमान किन्ने प्रक्रिया २०७१ सालबाट सुरु भएको हो, नेपाललाई जहाज चहिन्थ्यो, बिज्नेस प्लान राम्रो भयो–भएन अझै अनुसन्धान आवस्यक छ ।’

ती विषयमा अनियमितता भएको वा नभएकोबारे पनि अनुसन्धान भइरहेकोले गलत भेटिए सबैलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।यसअघि नेपालले जहाज खरिद गर्न पैसा पठाउने र उतै ढिसमिस हुने परिपाटीले निगमलाई क्षति पुगेको मन्त्री अधिकारीको दाबी छ ।

‘पहिलेका धेरै खरिद प्रक्रिया गलत भेटिएका छन्, म सुधारमा लागेको छु, केहीले धमिल्याउन पनि खोजे,’ अधिकारीले भन्नुभयो । आफूले मन्त्रालय सम्हालेपछि वायुसेवा निगममा ठूलो सुधार ल्याएको मन्त्री अधिकारीको दाबी छ ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्