भोजपुरका आधा दर्जन सरकारी कार्यालय प्रमुख विहिन
भोजपुर, मंसिर ६
तिहार सकिएको एक साता वित्दा समेत भोजपुरका आधा दर्जन सरकारी कार्यालय प्रमुख विहिन बनेका छन् । गत कार्तिक २९ गतेदेखी नै सरकारी कार्यालय खुले पनि प्रमुखहरु भने अझै कार्यालयमा उपस्थित भएका छैनन् ।
यसरी अनुपस्थित हुने प्रमुखहरुमा मालपोत कार्यालयका देवी प्रसाद भट्टराई, नापी कार्यालयका मान कुमार प्रधान, जिल्ला पशु सेवा कार्यालयका राजेन्द्र प्रसाद साह, शैक्षिक तालिम केन्द्रका जयराम अधिकारी, जिल्ला आयुर्वेदका शिव नारायण प्रसाद गुप्ता र जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी रहेका छन् । कृषि विकास कार्यालयका प्रमुख अधिकारी बिदामा बसे पनि अन्य प्रमुखहरुले भने काज तथा बिदा कुनै स्विकृत गरेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयले आइतबार छड्के चेकजाँजको क्रममा उनिहरु अनुपस्थित रहेको पाइएको हो । अनुपस्थित कर्मचारीहरुलाई कारबाही गरिने भोजपुरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र राज पौडेलले प्रशासनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
यस्तै छड्के चेकजाँचको क्रममा १९ जना कर्मचारी अनुपस्थित रहेको प्रजिअ पौडेलले जानकारी दिए । सबैभन्दा बढी जिल्ला विकास समितिका पाँच, सिचाँइ विकास डिभिजन कार्यालयका पाँच जना अनुपस्थित भेटिएका हुन् ।
त्यस्तै खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका तीन, कोष तथा लेखा नियन्त्रका कार्यालयका दुई, जिल्ला कृषि विकास कार्यालयका एक, शैक्षिक तालिम केन्द्र एक, जिल्ला वन कार्यालय एक र महिला तथा बालबालिका कार्यालयका एक जना कर्मचारी अनुपस्थित रहेका थिए ।
प्रकाशित मिति: ६ मंसिर २०७२, आइतबार