राजनीति व्यवसाय हो
बबिता बस्नेत काम के गर्नुहुन्छ ? यो प्रश्नको जवाफमा ‘राजनीति’ भन्नेहरूको सङ्ख्या हामीकहाँ ठूलो छ । कहीँकतै नाम, थर, वतनसँगै पेसा लेख्नुपर्दा राजनीतिकर्मीहरूले प्रायः पेसामा ‘राजनीति’ नै लेख्ने गरेका छन् । नेपाली शब्दकोशका अनुसार पेसाको अर्थ हुन्छ– जीवनयापनका निम्ति अँगालिएको मुख्य काम, जीविकाका निम्ति गरिने काम, इलम, व्यवसाय वा उद्योग । के त्यसो भए राजनीति जीवनयापनका निम्ति अँगालिने मुख्य काम हो ? सिद्धान्ततः निश्चय नै होइन । तर, व्यवहारमा भने यो क्रमशः व्यवसाय या उद्योगझैँ बन्दै छ ।
मुलुकमा उद्योग व्यवसाय फैलाउनका लागि नीति बनाउनुपर्ने राजनीति स्वयम् व्यवसाय बन्न थालेपछि देशको अवस्था के होला ? पेसा, व्यवसाय जे गर्दा चल्छ सोहीअनुरूपको रणनीति बनाएर अघि बढेझैँ राजनीतिलाई पनि आफूअनुकूल बनाउन राजनीतिकर्मीका प्रयासहरू जारी हुने नै भए । मुलुकको भविष्य कस्तो बनाउने, जनताका आवश्यकता पूरा गर्न, जीवन सहज बनाउनका लागि कस्तो नीति कार्यान्वयनमा ल्याउने भन्ने ठूलो उत्तरदायित्व बहन गर्ने व्यक्ति राजनीतिकर्मी हो । ढुङ्गामुढा गरेर, जे मुखमा आयो त्यही बोलेर राजनीतिकर्मी भइँदैन, तर हामीकहाँ राजनीतिकर्मी हुनुको अर्थ जे बोले पनि छुटझैँ भएको छ । मूलतः राजनीति गर्ने मानिसले देशको हितभन्दा बाहिर गएर बोल्न नमिल्ने मान्यता राखिन्छ, तर हामीकहाँ राजनीति कस्ता मानिसले गर्ने र राजनीति गर्नेहरूले के गर्न हुने, के नहुने भन्नेबारेमा खासै चर्चा परिचर्चा हुने गरेको छैन ।
पहिला–पहिला राजा–महाराजाको जमाना थियो । राजाले के गर्न हुने र के नहुने भन्ने कुरा उल्लेख गरिएका अनेकौँ ग्रन्थ छन् । धर्मग्रन्थहरूमा उल्लेखित राजसंहिताले राजाहरूलाई आफ्ना नागरिकको हितभन्दा माथि राखेको छैन । राजकाज गर्नेहरूले बोली र व्यवहारबाट कसैलाई पनि दुःखी बनाउन मिल्दैन भनिएको छ । राज्य सञ्चालन गर्नेका लागि देश र जनता नै सर्वोपरी हुन्छ, हुनुपर्छ । तर, हामीकहाँ को कुन दलको, को कसको मान्छे, कसले कहिले के भनेको थियो जस्ता कुरामा अल्झिएर आफ्नावरिपरि जो छन् तिनलाई मात्रै आफ्नो ठान्ने गरिएको छ ।
पारदर्शी राजनीतिकर्मीले सकेसम्म त्यस्ता ठाउँहरूमा आफ्ना मान्छे राख्दैनन् । तर, राजनीतिलाई पेसा, व्यवसाय ठान्ने गरिएकाले पेसा फस्टाएको बेला जम्मा पारिहालुँ न त भन्ने आकाङ्क्षाबाट धेरै कुरा निर्देशित हुने गरेको छ ।
राज्य कोष खर्चिएर नियुक्त गरिने निजी सचिव या सहयोगीमा परिवारकै सदस्यहरूको एकछत्र बाहुल्यबाट मात्र नभई आफूइतर पक्षका मानिसलाई गर्ने गरिएको व्यवहारबाट नेताहरूको सङ्कीर्ण सोच उजागर हुने गरेको छ । लाम लागेर मतदान गर्नेहरूको त कुरै छोडौँ मरिहत्ते गरेर चुनावमा नेता जिताउन लागेका कार्यकर्तालाई पनि यसप्रकारका नियुक्तिहरूमा नसम्झिनुको अर्थ आफ्नाहरूलाई काम दिलाउने कुरासँग मात्र सम्बद्ध छैन । आफ्ना कामहरूको गोपनीयतासँग पनि सम्बन्धित छ । आफ्ना कामकाज हेर्न कसैले ज्वाइँ, कसैले छोराछोरी राखेका छन् । पारदर्शी राजनीतिकर्मीले सकेसम्म त्यस्ता ठाउँहरूमा आफ्ना मान्छे राख्दैनन् । तर, राजनीतिलाई पेसा, व्यवसाय ठान्ने गरिएकाले पेसा फस्टाएको बेला जम्मा पारिहालुँ न त भन्ने आकाङ्क्षाबाट धेरै कुरा निर्देशित हुने गरेको छ । राजनीतिको मर्म बुझेर लाग्ने हो भने राजनीति गर्नु त्यति सहज कुरा होइन । यो जिम्मेवारी र उत्तरदायित्वले थिचिएको सेवा हो, देशप्रतिको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व ।
राजा जनक ‘इन्लाइन्टेन्ट’ राजा थिए । बुद्धत्व प्राप्त गरेपछि राजा जनकले आफ्ना गुरु अष्टवक्रसँग अब म हजुरको कुटीमा बस्छु, जीवन फरक तरिकाले बाँच्छु, मलाई राजकाज केही चाहिँदैन भने । राजा जनकको कुरा सुनेपछि अष्टवक्रले ‘तिमीलाई राजकाज चाहिँदैन, म बुझ्छु तिमी यहाँ खुसी हुन्छौ त्यो पनि थाहा छ, तर जनतालाई तिमीजस्तो निःस्वार्थी राजा चाहिएको छ, तिमी जाऊ देश र जनताका लागि राजकाज चलाऊ, जनताप्रतिको उत्तरदायित्वका अगाडि एउटा राजाले व्यक्तिगत इच्छा–आकाङ्क्षालाई मार्न सक्नुपर्छ । आफ्नो कर्तव्य पूरा गर’ भनेको प्रसङ्ग निकै रोचक छ । तर, हामीकहाँ त राजनीतिमा आएपछि आफ्ना व्यक्तिगत इच्छा–आकाङ्क्षालाई पूरा गर्ने गरिएको छ । राजनीति बदनाम हुनुमा राजनीतिकर्मीहरूको स्वार्थी सोच र व्यवहारले प्रमुख भूमिका निर्वाह गरेको छ ।
राजनीतिको अर्थ नीति बनाउनु हो, यस्तो नीति जसले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् । राजनीति व्यवसाय होइन ‘भिजन’ हो जसले मुलुुक र जनतालाई दूरगामी प्रभाव पार्न सक्छ । तर, हामीकहाँ त राजनीति गर्ने भनेको मूलतः नकाारात्मक अर्थमै लिइन्छ । समाजसेवा या पेसा व्यवसायमा कुनै छुद्र काम हुन लाग्यो भने यसमा राजनीति भयो या यसमा चाहिँ राजनीति नगरूँ है भन्ने गर्छौँ । यसको अर्थ राजनीति गतिलो कुरा होइन, यो जहाँ पस्यो त्यहाँ खत्तम पार्छ भनेर बुझ्ने गरिएको छ । हुन पनि त्यस्तै नै छ, संसद्मा शपथ खाएर जब कुनै राजनीतिकर्मी आफ्नो बास स्थानका रूपमा जेल फर्कन्छन् ।
राजनीतिकर्मीको व्यवहार र राजनीतिका नाममा गर्ने गलत काम, कारबाहीका कारण राजनीति कमाइधमाई हुने गज्जबको व्यवसायझैँ बनेको छ ।
यसलाई सही खेल मान्ने पनि कसरी ? हाम्रा राजनीतिक अभ्यासहरू यसरी नै चलिरहेका छन् । राजनीतिकर्मीको व्यवहार र राजनीतिका नाममा गर्ने गलत काम, कारबाहीका कारण राजनीति कमाइधमाई हुने गज्जबको व्यवसायझैँ बनेको छ । राजनीति पेसा, व्यवसाय नभई नितान्त सेवा र कर्तव्य हो ।
त्यसो भए के कर्तव्य मात्रै गरेर घर चल्छ ? परिवार धानिन्छ ? राजनीतिकर्मीले खानुपर्दैन ? देशप्रति मात्रै उनीहरू उत्तरदायी भएर पुग्छ ? उनीहरूको पारिवारिक उत्तरदायित्व हुँदैन ? अवश्य नै हुन्छ । राजनीतिकर्मीको पनि अन्य सर्वसाधारणको झैँ सबै प्रकारका उत्तरदायित्वहरू हुन्छन् । त्यसैले आममानिसले जस्तै राजनीतिकर्मीले पनि जीवन धान्नका लागि कुनै न कुनै पेसा व्यवसाय अँगाल्न आवश्यक हुन्छ ।
पेसा–व्यवसायमा रहेकै बेला राजनीति गर्नेहरू केही समय राजनीति गरेर फेरि पेसामा फर्कन सजिलो हुन्छ । ओबामा कानुन व्यवसायी थिए, अलगोर वातावरणविद्का रूपमा फेरि आफ्नै पेसामा फर्किए, कन्डोलिजा राइस स्ट्यानफोर्ड युनिभर्सिटीमा पढाउँथिन्, केही समय अमेरिकाको विदेशमन्त्रीको पद सम्हालेर फेरि अध्यापनमै फर्किइन् । यस्ता उदाहरण धेरै छन् । हामीकहाँ पनि यस्तो हुन सक्यो भने राजनीतिकर्मीका कारण हुने भ्रष्टाचारमा कमी मात्र आउने थिएन, भ्रष्टाचार नगर्ने राजनीतिकर्मीहरूलाई पनि जीवन धान्न सहज हुने थियो ।
स्थानीय तहदेखि केन्द्रसम्म पदमा पुगेका राजनीतिकर्मीहरूले गाडी चढ्न या अन्य सुविधाका लागि मरिहत्ते हाल्नुपर्ने थिएन । यसका लागि मुलुकमा पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउनु आवश्यक हुन्छ । जसका कारण मन्त्री पदमा पुगेका राजनीतिकर्मीले पनि भोलि सहज रूपमा भन्न सकून्, म अहिले मन्त्री हुँ, तर मेरो पेसाचाहिँ यो हो । मन्त्री, सांसद भइसकेकाहरूले गौरवका साथ भनून्– ‘म अहिले यो व्यवसायमा छु, मन्त्री हुँदा देशको लागि यति गर्न पाएको थिएँ । त्यो एउटा गज्जबको अनुभव थियो ।’ यस्तो अवस्था कहिले आउला ? घटना र बिचारबाट
प्रकाशित मिति: ९ माघ २०७५, बुधबार