अब विद्युतीय हाजिरी विद्यालयमा,
तेजन खड्का उर्लाबारी— उर्लाबारी नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयमा इहाजिरी जडान कार्य सुरु भएको छ । राधिका मावि—उर्लाबारी ६ मा आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले इ हाजिरीको उद्घाट गर्दै सवै विद्यालयमा अनिवार्य गरेको बताउनुभयो । नगरपालिकाको सहयोगमा नगरका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरेको र अव इ हाजिरी जडानको काम सुरु भएको मेयर फागोको भनाई छ । ‘स्थानीय तह सञ्चालन ऐनका आधारमा शैक्षिक प्रशासनलाई सुदृढीकरण गर्न यस्तो प्रविधि अनिवार्य गर्ने निर्णय गरेका हौं,’ फागोले भन्नुभयो । पहिलो दिन नै यसको सुरुवात राधिका माविबाट गरिएको हो ।
शिक्षकहरूले विद्युतीय माध्यमबाट हाजिर गरी सुरुवात गर्नुभएको छ । नगरभित्रका सबै मावि र आधारभूत तहका विद्यालयमा यस्तो अभ्यासको थालनी गरेको फागोले बताउनुभयो । कर्मचारीले इ हाजिरी शुरु भएपछि हातको औँलाले हाजिरी यन्त्रमा थिचेर उपस्थित भए नभएको जनाउनुपर्ने हुन्छ र समयको पालना पनि गर्नुपर्ने बाध्यता रहन्छ । विद्यालय निरीक्षकले ल्याएको तथ्यांकअनुसार शिक्षकको लापरबाही भएको विद्यालयमा दिनको तीनपटक र अन्य विद्यालयको हकमा दुईपटक विद्युतीय हाजिरी गर्नुपर्नेछ । सबै विद्यालयमा एकरूपता ल्याउने योजनाका साथ काम गरिएको मेयर फागो बताउनुहुन्छ।
‘एउटा शिक्षकले दिनमा तीनपटक हाजिर लगाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बिहान १० बजे, दिउँसो १ र बेलुका ४ बजे । सामान्य विद्यालयमा भने बिहान र बेलुका मात्र लगाउनुपर्छ । यसको लेखाजोखा सबै विद्यालय आ–आफूले राख्नेछन् र मासिक रूपमा नगरपालिका कार्यालयमा ल्याएर बुझाउने छन् ।’ राधिका माविका प्रधानाध्यापक कुमार पोखेरेलले विद्यालय प्रविधीमैत्रि बनेकोमा खुशी प्रकट गर्दै यस कार्यले शैक्षिक उन्नतीमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभएको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष चन्द्रबहादुर राई,सदस्य दीपेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार