बेलदोभान–रौता पोखरी केवलकार संचालन हुने योजना प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण
गाईघाट । त्रियुगा नगरपालिकाले बेलदोभान रौतामाई केवलकारको डिपिआर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १६ बेल दोभान देखि रौता सम्मको केवुलकार संचालन गर्ने गरि विस्तृत योजना प्रतिवेदन मुख्य मन्त्रीलाई बुझाएको हो । सोमबार मुख्यमन्त्रीको कार्यालय विराटनगरमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले डिपिआर हस्तान्तरण गरेका हुन ।
केवलकारको डिपिआरमा ४ अर्व लगानी लाग्ने अनुमान गरिएको छ । जसमध्ये ३ अर्व रकम केवलकार कम्पनीले व्यहोर्ने र बाँकी १ अर्व स्थानीय सरकार र सर्वसाधरणको शेयर हुने उल्लेख गरिएको त्रियुगा नगरपालिकाका सल्लाहकार प्रमेश्वर घिमिरेले जानकारी दिए । सल्लाकार घिमिरेका अनुसार त्रियुगा नगरपालिकाले तिन बर्षमा १५ करोडको दरले ५० करोड लगानी जुटाउने र बाँकी ५० करोड रौतामाई गाउपालिका र स्थानीयलाई शेयर विक्री गरिने छ ।
मुख्य मन्त्रीलाई प्रदेश सरकारको बजेटबाट २ वटा झोलुङ्गे पुल निर्माण गर्न प्रस्ताव गरेको छ । त्रिनपा ८ उत्तराई टोलको सरस्वती खोला र गाईघाटबाट आर्यघाट हुदै मोतियाही जाने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गर्न योजना प्रस्ताव गरिएको मेयर चौधरीले जानकारी दिए । मेयर चौधरीका अनुसार डिएम गेट हुदै लक्ष्मीपुर जाने बरुवा खोलामा पक्कीपुल बनाउन समेत प्रस्ताव पेश गरिएको छ । भने खारखोला बुर्जाकाल्ला र दमौती सडकलाई बहुबर्षिय योजनामा समावेस गरि कालोपत्रे गर्नको लागी योजना माग गरिएको छ ।
प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार