प्रहरीले बरामत गरेको चार किलो सुन राजश्व अनुसन्धानमा पुगेपछि तामा बन्यो !


 


काठमाडौं । नेपाल प्रहरीले बरामत गरेको चार किलो सुन राजश्व अनुसन्धान विभाग पुग्दा तामा बनेको छ । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । तर, राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’ नयाँपत्रिका दैनिकमा समाचार छ ।

इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताए । बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन् । विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै पर्‍र्यौँ,’ उनले भने ।

राजस्व अनुसन्धान विभागले सुनचाँदी, रत्न तथा आभूषण महासंघको सहयोगमा परीक्षण गराउँदा तामा र ढलौट मिसिएको धातु भएको पुष्टि भयो । अनुसन्धान विभागले सो धातु स्वामित्वमा लिन मानेन । बरामद भएको धातुसहित सबै अभियुक्तलाई विभागले धादिङ प्रहरीमै फिर्ता पठाइदिएको छ ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्