नेपालले मागेजति इन्धन दिन चीन तयार
भाेजपुर, मंसिर ३
नेपालका लागि आवश्यक पुरै इन्धन बिक्रि गर्न चीन तयार भएको छ । हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको वताएका हुन् ।
‘इन्धन ढुवानीबारे व्यापारिक सम्झाैतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ । तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउने छौं ।’
दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको उनले बताए । ‘पाइपलाइनबाट इन्धन ढुवानी गर्ने सम्भावना छ । मन्त्रालयको योजना पनि छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा त्यो चाहिन्छ ।’
अनौपचारिक भ्रमणको क्रममा चीन सरकारबीच अनौपचारिक छलफल भएको उनले बताए । ‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने ।
उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ ।
प्रकाशित मिति: ३ मंसिर २०७२, बिहिबार