शव जलाउन थाल्दा त्यही शव भित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा भेटियो अर्को शव, मलामीको उड्यो होस


 


काठमाडौं, ६ माघ । दोलखा स्थित एक अस्पतालको पोष्टमार्टममा चरम लापरवाही हुने गरेको तथ्य खुलेको छ । अस्पतालले पोष्टमार्टम पछि आफन्तलाई शव जिम्मा लगाउँदा चेकजाँच नगरी दिने गरेको भेटिएको छ । एक जना ब्यक्तिको शव भनेर घाटमा जलाउन लैजाँदा जलाउने क्रममा संगै अर्काे शव पनि भेटिएपछि अस्पतालको चरम लापरवाहीको पर्दाफास भएको हो ।

भीरबाट लडेर शनिबार मृत्यु भएका भीमेश्वर नगरपालिका–१ का ४४ वर्षीय कालुमान थामीको शवसंगै अस्पतालले अर्को शव समेत पठाएको हो । उनको शवसंगै पोको पारेर अर्को बच्चाको समेत शव घाटमा जलाउने बेलामा मलामीले देखेपछि प्रहरीलाई खबर गरेका छन् । थामीको शववाट उनले लगाएका लुगा पन्छाउने क्रममा प्लाष्टिकमा पोको पारेको अवस्थामा अर्को नवजात शिशुको शव फेला परेको हो ।

‘दागबत्ती दिन लागेको बेला पोस्टमार्टम गरी सिलाइएको अवस्थाको शिशुको शव भेटिएपछि सबै मलामी छक्क परे’, मलामी गएका भीमेश्वर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर थामीले भने, यो घटनावाट अस्पतालको चरम लापरवाही पर्दाफास भएको छ ।’ प्रहरीले राति ८ बजे बच्चाको शव बुझेर फेरि अस्पताललाई बुझाए पछि मात्र थामीको दाहसंस्कार गरिएको थियो ।

माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको शव माघ ५ गते बिहान करिब ७ बजे भीमेश्वर नगरपालिका–२ को भीरमुनी भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि प्लाष्टिकमा प्याक गरिएको शव बुझेर अस्पतालबाटै गाडीमा राखेर घाटतर्फ लगिएको थियो।

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा।क्षमता घिमिरेले शनिबार साँझ प्रहरीले फोन गरेपछि मात्र बच्चाको शव हराएको थाहा पाएको बताइन् । ‘बच्चाको शव पठाउन खोजेको चाहिँ होइन’, डा। घिमिरेले भनिन्, ‘हाम्रो तर्फबाट पनि गल्ती भयो।’ उनले गल्ती स्वीकार गरेपनि थामीको परिवारलाई समेत दोषी देखाइन्। ‘शव नहेरी लानु उनीहरुको पनि गल्ती हो’, डा। घिमिरेले भनिन्।

माघ ४ गते शुक्रबार चरिकोट अस्पतालमा बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृत अवस्थामा ४ केजी तौल भएको बच्चा जन्मेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्