देउवाले कार्यकर्तालाई दिए कडा निर्देशन


 


दमौली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन्। कांग्रेस तनहुँले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने बताए।

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर, विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने उल्लेख गरे।

सबै एकजुट भएर अगाडि बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए।

महासमिति बैठकबाट पारित विधान उत्कृष्ट बनेको जिकिर गर्दै गर्दै सभापति देउवाले राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान कांग्रेस पार्टीको आत्मविश्वासको प्रतिक भएको बताए।

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै सभापति देउवाले सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकाले उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले आन्तरिक एकता नहुनु नै हारको मुख्य कारण भएकाले कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा कांग्रेस कमजाेर अवस्थामा पुगेको बताए।

तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उनीहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, डा. रामशरण महत, शंकर भण्डारी, प्रदीप पौडेल, जीवन परियार, पूर्व केन्द्रीयसदस्य कृष्णचन्द्र नेपालीलगायतले कांग्रेसको जनआधार अहिले पनि बलियो रहेकोले चुनावको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका थिए।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्