हिन्दुराष्ट्र माग्दै घरदैलोका लागि राप्रपा नेताहरू खटिए


 


काठमाडौं, माघ ६ हिन्दु राष्ट्र पुनःस्थापनाका लागि राप्रपा नेताहरु जिल्ला जिल्लामा खटिएका छन । राप्रपाले माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ, राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

उसले केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिदै ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय गरेको छ भने फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ जुन यात्रा ताप्लेजुङ देखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै काठमाडौं आइपुग्नेछ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउदै आएको राप्रपाले जनतालाई जागृत तुल्याउने उद्देश्यले माघ ७ र ८ गते देशव्यापी घरदैलो कार्यक्रम आयोजना गरेको छ । सबै ठाउँमा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ, पार्टीका प्रमुख नेताहरू पनि जिल्ला पुगेका छन् ।

जसअनुसार अध्यक्ष कमल थापा मकवानपुरका विभिन्न ठाउँमा सहभागी हुनेछन्, बुद्धिमान तामाङ धादिङ, टंक ढकाल, उद्धब पौडेल काठमाडौं, राजेन्द्र लिङ्देन झापा र पूर्व क्षेत्रका जिल्लाहरुमा खटिएका छन ।

यस्तै धवलशमसेर राणा बाँके, महिला र युवक संगठनका अध्यक्षहरु क्रमशः कुन्ती शाही र प्रकाश रिमाल सर्लाही, महोत्तरी, भुवन पाठक, राजेश गिरी जनकपुर, हेमजङ्ग गुरुङ, तोरणबहादुर गुरुङ र धार्मिक संगठनका अध्यक्ष पुष्पराज पुरुष सहितको टोली लमजुङ, गोरखा र तनहुँ पुगिसकेका छन् । खटिएका केन्द्रीय प्रतिनिधिहरु आज साँझसम्म तोकिएका ठाउँमा पुग्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्