मन्त्रीकाे झापड खाएका सचिवले फेरि खाए अर्काे झापड !


 


काठमाडौं गत पुस २९ गते प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादवले वन तथा वातावरण सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना सेलाउन नपाउँदै फेरि सोही घटना दोहोरिएको छ । सचिवलाई कार्यकक्षमा बोलाएर मन्त्री यादवले झापड हानेको घटनाले सनसनी मच्चाइरहेकै बेला झाले फेरि अर्को झापड खाएका छन् ।प्रदेश सरकारले तत्कालै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिको म्याद आज सकिँदैछ । समितिले प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् लेख्दै सचिव झाले आफूले कर्मचारीहरुबाटै थप्पड खाएको उल्लेख गरेका छन् ।

कर्मचारीहरुले आफूलाई सहयोग नगरी प्रलोभनमा फसेको आरोप लगाउँदै सचिव झाले आफू न्यायका लागि लडिरहने बताएका छन् ।

यस्तो छ सचिव झाको स्ट्याटसः

आज मध्यरातमा फेरी अर्को थप्पड खाइयो । चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गई रहेको छु । मन्त्रीजी मलाई पिटेरै शानसंग हिड्नु भएको छ, आधिकारिक धनुषाको साथिहरु के को लागि आन्दोलन उठान गर्नु भएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो, र त्यसको कारण पनि (अस्ति को सरुवा) । बिज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईहरु प्रति रहेसहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्रि बीच को घटना ? २९ गते कै तपाईहरुकै बिज्ञप्तिसंग मेल खादैन ।

दुइ तिन दिन यसो पेन डाउन गरेर नाटक गर्नु भो र शक्तिका अगाडी घुडा टेक्नु भो । तर भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको यो केसमा सत्य र सदाचार हार्नु हो । मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडी टिक्नु हुन्न भने मलाई उतिबेला पनि राम्ररी थाहा थियो ।

तपाईहरुको आन्दोलन भन्दा उपलब्धि त मेरो पहिले दिन एक्लैको संघर्षकोले प्राप्त गरि सकेको थिए । मा. मुख्यमन्त्री जीले मसंग ‘तपाई संग अन्याय भएको छ, माफ गरिदिनुस’ भनि सक्नु भएको थियो ।

तर याद गर्नु होला यो विज्ञप्तिका ड्राफ्ट कर्ताज्यु, जुन बिऊ आज तपाईहरु असत्यको अगाडी घुडा टेकेर रोप्नु परेको छ, त्यसको फल पनि कालान्तरमा तपाई नै टिप्नु पर्ला ।

फरेस्टर मर्दा मात्र फुलको माला चढाई दिने NFA, NEFTA संग पनि अपेक्षा रहेन । अध्यक्ष ज्युहरु बडो जोडले भाषण गर्नु हुन्थ्यो, कि राम्रो काम गर्नुस केहि भयो भने हामी लड्छौ । राम बिचारी जी पिटिदा उहाँ कै गल्ति थियो भनेर पन्छिनु भो । मलाई के भन्नु हुन्छ ?

यो लडाई मेरो लागि व्यक्तिगत तवरमा अझै जारि छ, जारि रहन्छ, मैले भनेको थिए अन्तिम सास सम्म लड्छु, कम्जोर छु तर लड्छु, तपाईहरुले जस्तो घुडा टेक्दिन !

तपाईहरु बाहेक, मलाई चिन्ने र नचिन्ने सोसल मिडिया र पत्रपत्रिका र रजिस्टरमा सिग्नेचर गरेर केन्द्रिय गृह मन्त्रालयमा बुझाउनु हुने सम्पूर्ण सकल दर्जाका स्वतन्त्र कर्मचारी साथिहरु प्रति आभार व्यक्त गर्दछु, नतमस्तक छु ।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्