सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै आफूलाई आइसियु बाहिर सार्न डा केसीको अनुरोध


 


काठमाडौं– तीनदेखि शिक्षण अस्पतालको आइसियुमा रहेका सत्याग्रही डा गोविन्द केसीलाई आफूलाई बाहिर सारिदिन अनुरोध गरेका छन् । आफूलाई बेड अकुपाइ गर्दा आइसियु जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै उनले आफ्नो उपचारमा संलग्न मेडिकल टिमलाई यस्तो अनुरोध गरेका हुन्।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले त्यहीँ उपचारत रहन आफूहरुले गरिरहेको आग्रह अस्वीकार गर्दै आइसियुबाट निस्किने चाहना व्यक्त गरेको डा सुवास आचार्यले बताए । शिक्षण अस्पतालको आइसियु इन्चार्ज समेत रहेका क्रिटिकल केयर स्पेसियलिस्ट डा आचार्यले भने, ‘उहाँले आज दिउसोसम्म बाहिर सार्न अनुरोध गर्नुभएको छ।’

डा केसीको चाहनाका विषयमा उनको उपचारमा संलग्न मेडिकल टिमले आवश्यक जाँच र सल्लाह गरिरहेको उनले बताए । बाहिर संक्रमण हुन नसक्ने खालको ठाउँमा आवश्यक उपकरणको व्यवस्था गरेर मात्रै उनलाई सार्न सकिने डा आचार्य बताउँछन् । त्यस्तो स्थानको पहिचान गरेर आवश्यक तयारी गरिएपछि दिउसोसम्म सार्न सकिने डा आचार्य बताउँछन्।

‘म चिकित्सा शिक्षा सुधार होस् भनेर ज्यान नै दाउमा राखेर भोक हड्ताल गरिरहेको छु । त्यसैले मलाई आइसियुमै राख्नुपर्दैन । आइसियु बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस्,’ उनको भनाईलाई उद्घृत गर्दै डा आचार्यले भने।

अनसनरत डा केसीको स्वास्थ्य निरन्तर खस्किदो अवस्थामा छ । उनलाई छातिको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाइएको छ। डा केसीलाई छाति दुख्ने, रिंगाटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको छ । उनको रक्तचाप पनि न्युन रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि थप अक्सिजन दिइएको छ । यसैगरी ब्लड सुगर र फस्फोरस पनि न्युन रहेको चिकित्सकहरुले बताएका छन्।

उनको स्वास्थ्य निरन्तर निगरानी छ । जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराइरहेका छन्।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्