अब अलपत्र नेपालीको उद्धार युएई सरकारले गर्ने


 


काठमाडौं : सयुक्त अरव इमिरेट्स (युएई)को आबुधावीमा रहेको अल वासिता क्याटरिंग इमिरेट्स कम्पनीमा तलव तथा खाना खान नपाई अलपत्र परेका नेपालीसहित विदेशी कामदारको उद्धारको जिम्मा त्यहाँको सरकारले लिएको छ । कम्पनी मालिक भागेपछि त्यहाँ कार्यरत सयभन्दा बढी नेपालीहरु लामो समयदेखि अलपत्र परेका थिए ।

सितापाईलामा रहेको सनहिल्स ओभरसिज सर्भिसेज प्रालीबाट उक्त कम्पनीमा गएका नेपालीसहित चार सय विदेशी कामदार अलपत्र परेका थिए । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेपछि उक्त क्याटरिङ कम्पनीका कार्यरत कामदार अलपत्र परेका हुन् ।

गल्फ न्युजका अनुसार यूएईको कम्युनिकेशन एण्ड ईन्टरनेशनल रिलेसन मन्त्रालयका उपसचिव ओमर अल नुएैमीले कम्पनी भ्रमण गरेर त्यहाँ कार्यरत १ हजार २ सय कामदारको अवस्थाबारे जानकारी लिएको बताउँदै कम्पनी सञ्चालकविरुद्ध कानूनी कारवाही शुरु गरिएको बताएका छन् ।

उनले केही दिन अघि कम्पनीको मालिक परिवर्तन भएको कारण समस्या उत्पन्न भएको भन्दै तलव नपाएका विदेशी कामदारलाई सोही कम्पनीमा निरन्तर काम गर्न, कम्पनी छोडेर यूएईमा नै नयाँ काम खोज्न तथा स्वदेश फर्किन तीन विकल्प दिईएको बताएका छन् । कम्पनीमा नेपाल भारत, बंगलादेश फिलिपिन्सका धेरै र ईजिप्ट, पाकिस्तान र नाईजेरियाका थोरै कामदार रहेको समाचारमा उल्लेख छ ।

कम्पनीमा विगत एक वर्षदेखि नौ वर्षसम्म कार्यरत नेपालीहरु छन् । कम्पनीले गत जुलाई महिना देखि तलब नदिएको पीडित कामदारहरुले बताएका छन् । अलपत्र सबै देशका कामदारले अलपत्र परेपछि आ–आफ्ना देशका दूतावासमा उद्धारका लागि निवेदन दिएका छन् । मन्त्रालयले अदालती प्रक्रिया पुरा भएपछि कामदारहरुको वाँकी तलव पाउने बताएको छ ।

बिहान बेलुका खानाको समेत समस्या पर्न थालेपछि यूएईएस्थित भारतीय दुतावासका उपसचिवले कम्पनी भ्रमण गरी केही राहत पठाएका थिए भने नेपालीहरुलाई आफन्त, विभिन्न संघ संस्था, साथीभाइहरुको सहयोगमा बिहान बेलुकाको खाना खुवाईएको बताइएको छ । नेपालीहरुले आफुहरुलाई रोजगारको लागि पठाउने सन हिल्स ओभरसिजमा पटक पटक खबर गरे पनि सहयोग नपाएको उनीहरुले बताएका थिए तर कम्पनी सञ्चालक सुर्य अधिकारी कामदारहरुको समस्या समाधानका लागि गत साता नै युएई गएका थिए ।

संचालक अधिकारी आफु युएई जानुअघि मध्यान्ह दैनिकको कार्यालयमा आएर सो सम्बन्धि प्रकाशित समाचारप्रति असहमति जनाएका थिए । संचालक अधिकारीले उक्त कम्पनीमा आफ्नो म्यानपावरबाट फेरि कामदार पठाउनेबारे कुनै प्रक्रियासमेत नभएको स्पष्ट पार्दै हाल पीडित कामदारलाई राजदुतावास र कम्पनीसँग सहकार्य गरी सक्दो चाँडो उद्धार गरिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

हाल युएईमै रहेका संचालक अधिकारीले मध्यान्ह दैनिकसँग टेलिफोनमा भने ‘यो विषय अहिले युएई सरकारको प्राथमिकतामा समेत परेको छ । समस्या समाधानका लागि भरमज्दुर प्रयास भइरहेको छ ।’

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्