मिडियाले अपराधी, मानवअधिकारकर्मीले बेश्या बनाए, हामी जिउँदो निर्मला भयौ-बम दिदीबहिनी


 


काठमाडौं । निर्मला हत्याकाण्डमा अघोषित अभियुक्त ठानिएका कञ्चनपुरका बम दिदीबहिनी बबिता र रोषनी सुरक्षा माग्दै राजधानी काठमाडौं आएका छन् । केही स्थानीय र केही महिलाअधिकारकर्मीले निरन्तर मानसिक तनाव र धम्कि दिएको भन्दै उनीहरु सुरक्षा माग्न राजधानी काठमाडौं आएका हुन् ।

निर्मलाको हत्यापछि बम दिदीबहिनीलाई अघोषित आरोपीका रुपमा चित्रण गरिएको थियो । सामाजिक सञ्जाल, अधिकारकर्मी र केही राजनीतिक दलको दवावका कारण उनीहरु थुनामा पनि बसेका थिए । सर्वत्र दवाव आएपनि उनीहरुले कञ्चनपुर छोडेका थिएनन् । तर राजधानी लगायत केही स्थानमा दुई दिनअघि मात्र उनीहरुकै कारण निर्मलाको बलात्कारपछि हत्या भएको पर्चा शहरभरि छरिएको थियो । राजधानीमा छरिएका पर्चामा उनीहरुले यौन ब्यवसायी गर्ने गरेको तथ्यहिन आरोप पनि लगाइएको थियो ।

अदालत तथ्य र प्रमाणले नभनेपनि कञ्चनपुरदेखि काठमाडौंसम्म उनीहरुलाई हत्या आरोपीका रुपमा चित्रण गरिन थालिएको छ । जताततै आरोप लाग्न थालेपछि उनीहरु राज्यसँग न्याय माग्न राजधानी काठमाडौ आइपुगेका छन् । राजधानी आएका बम दिदिबहिनीले मानवअधिकारकर्मी, राजनीतिक दलका नेता र स्थानीय पत्रकारले धम्कि दिएको बताएका छन् । तर उनीहरुले नाम भने सार्वजनिक गरेका छैनन् ।

यतिबेला बम दिदीबहिनी निकै हतासमा छन् । उनीहरुमा पीडा पनि त्यतिकै छ । कानुनले दोषि ठहर गरे आफुहरु जुनसुकै सजाय पनि भोग्न तयार भएको बताउन थालेका छन् । तर मिडिया, अधिकारकर्मीले आफुहरुलाई जिउँदै हत्या गरेको उनीहरु बताउन थालेका छन् । ‘हामी दोषि भए कानुन अनुसार साजय भोग्न तयार छौ, तर, हामीलाई त मिडिया अपराधी बनाइदिए, मानवअधिकारकर्मीले बेश्या’, बबिताले भनिन् ‘हामी जिउँदो निर्मला भयौ ।’

बम दिदीबहिनीले सबैभन्दा बढि आपत्ति मिडिया र अधिकारकमीप्रति गरेकी छिन् । मिडियाले अपराधी बनाएको र मानवअधिकारकर्मीले यौन धन्दा सञ्चालन गर्ने बेश्या बनाएको उनीहरु बताउन थालेका छन् । निर्मला हत्याकाण्डमा उनीहरुको दोषि नभेटिए उनीहरुमाथी अत्याचार नै हुने सत्य छ । कपितय मानवअधिकारकर्मीले बम दिदीबहिनी नै अपराधमा रहेको प्रतिवेदन सार्वजनिक पनि गरेका छन् । ‘प्रतिबेदनमा हामीलाई अपराधी बेश्या बनाउने मिना भण्डारी र शारदा चन्द हुन् ’, बबिताले भनिन् । उनीहरुकै कारण हामीले घर छोडेर न्याय माग्न आएका छौ । बम दिदीबहिनीले काठमाडौंसम्म आफ्नो सुराकी भइरहेको बताए । नेपाल मानवअधिकार संगठनले बम दिदीबहिनीलाई दोषि देखाउँदै प्रतिवेदन सार्वजनिक गरेपछि आत्महत्याको तहका छोरीहरु पुगेको आमा इन्दिरा बमले बताएकी छिन् ।

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्