७५३ स्थानीय तहमा रोजगार संयोजकको जागीर खुल्यो


 


काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आवेदन खुलाएको छ ।

प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी नियुक्त गर्न शुक्रबारदेखि आवेदन माग गरिएको हो । मन्त्रिपरिषद्बाट स्वीकृत रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञापन गरेको हो ।

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह)को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ ।

स्वीकृत दरबन्दीमा शुक्रबारदेखि अनलाईन फारम भर्ने व्यवस्थासहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैँले अनलाइन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ ।

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ ।

पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइने छ ।

कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयर मार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्र १ गतेबाट बेरोजगारहरुको सूचीकृत गर्ने काम सुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

संयोजकको सेवा सुविधा भने निजामति कर्मचारी सो सरह र सम्बन्धीत स्थानीय तहमा सरकारले तोके अनुसारको भत्ता दिने मन्त्रालयले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रोजगार दिने सरकारको तयारी छ ।

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्