संसद्मा वाइडबडी प्रकरणबारे काँग्रेस किन बोल्न सकेन ?


 


काठमाडौं, माघ ४

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर सेसनमा संसदहरूले सोधेको प्रश्नको एक/एक जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिए । तर बहुचर्चित वाइडबडी प्रकरणमा न प्रश्न आयो, न प्रधानमन्त्रीले नै केही बोले । त्यसो त प्रश्नै नआएपछि प्रधानमन्त्री केही बोल्ने कुरै भएन ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस २२ गते आइतवार संसद्‍मा आफ्नो उपस्थिति आक्रामक रूपमा देखाएको थियो । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरेपछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने भन्दै कांग्रेस सांसदहरूले बैठकमा हंगामा मच्चाए ।

प्रधानमन्त्रीले संसद्‌मा झुटो तथ्यांक पेश गरेको भन्दै कांग्रेसका सांसदले होहल्ला गरेका थिए । जसका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको थियो ।

प्रश्नोत्तर गर्न पाउने विषयलाई प्रतिष्ठा बनाएको कांग्रेसले शुक्रवारको प्रश्नोत्तर सेसनमा अनशनरत गोविन्द केसी र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालन हुने भनिएका अस्पताल बाहेक अन्य खास मुद्दा उठाएन । प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै कांग्रेस सांसद गगन थापाले डाक्टर केसीको चिकित्सा क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्नुपर्ने मागलाई सम्बोधन गर्न आग्रह गरे । तर प्रधानमन्त्री ओलीले सार्वभौम संसदलाई आफूले आदेश दिन नसक्ने बताउँदै संसद्‌ले गरेको निर्णय आफूले मान्ने बताए ।

कांग्रेस वाइडबडी प्रकरणमा चुप रह्यो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने भन्दै यसअघि सडक तताएको कांग्रेस संसद्‍मा भने सेलाएको देखिएको छ । ३३ केजी सुन तस्करीका काण्डमा यसअघि चर्को कुरा गर्न कांग्रेस शुक्रबारको बैठकमा भने चुप रह्यो । राष्ट्रिय रूपमा बहस सिर्जना गरिरहेका कतिपय मुद्दाका बारेमा प्रधानमन्त्रीलाई कुनै प्रश्न गर्न नसक्ने कांग्रेसले यो भन्दा अगाडि प्रश्नोत्तर गर्न पाउनुपर्ने विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेको थियो ।

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्