उर्लाबारी ८ र ९ का वडाध्यक्षले मकैको वीउ वितरणमा कुनै अनियमितता नगरेको पुष्टि


 


उर्लाबारी, माघ ४

उर्लाबारी नगरपालिकाको ८ र ९ नम्बर वडा समितिले मकैको वीउ वितरणमा कुनै अनियमितता नभएको जनाएको छ । साविक राजघाटमा रहेको वडा समितिको कार्यालयमा शुक्रवार पत्रकारसँग भेटघाट गरी सम्बन्धित वडाका जनप्रतिनिधिले केही सामाजिक सञ्जालमा आएको मकैको वीउ वितरणमा अनियमितता भएको भन्ने प्रचार झुटो भएको भन्दै आपत्ति जनाएका हुन् ।

८ र ९ नम्बर वडा समितिको सर्वसम्मत वैठकले नै न्यूून मुल्य लिएर किशानलाई वीउ वितरण गरिएको जनाइएको छ । वडा नम्वर ८ का अध्यक्ष कुलबहादुर कार्कीका अनुसार २ वटा वडा समितिले ३/३ लाखका दरले मकैको वीउ खरिद गर्ने निर्णय गरेको थियो । यद्यपि विनियोजित रकमले आवश्यकता धान्न नसकेपछि थप वीउ खरिद गर्नु परेकोले न्यून मुल्यमा वीउ वितरण गरिएको कार्कीको भनाई छ ।

साविक राजघाट गाविस कृषि पकेट क्षेत्र भएकोले त्यहाँका दुईवटा वडामा विगतदेखि नै स्थानीय निकायले किशानहरुलाई सुलभ रुपमा कृषिजन्य वीउविजन उपलब्ध गराउँदै आएको छ । “पूर्णरुपमा निःशुल्क भन्ने होइन” कार्कीले विगतको उदाहरण दिदै भने—किशानलाई पनि अपनत्व हुने गरी सहुलियत दरमा वीउ वितरण गरिएको हो । हाल वजारमा प्रति किलो ३ सय ५० मुल्य रहेको हाइब्रीड कोर्न ९२२० मकैको वीउलाई एक सय रुपैयाँ मात्र लिएर किशानलाई वितरण गरिएको वडा नम्वर ९ का सचिव मञ्जु पाण्डे बताउछिन् ।

उनका अनुसार वडा कार्यालयहरुबाट विनियोजित छ लाख रकमले १८ सय ७५ केजी मात्र वीउ उपलब्ध हुने भएपनि अपुग वीउ, ढुवानी र कामदार खर्चका लागि थप एक लाख ५० हजार नगरपालिकाको कृषि शाखाबाट उपलब्ध गराइएको थियो । सो रकम थप भएपछि दुई हजार तीन सय ४० केजी वीउ खरिद गरी सबै किशानलाई वितरण सहज पारिएको हो । गत मंसिर ९ गतेदेखि १६ गतेसम्म नागरिकता वा परिचयपत्रका आधारमा एक जना किशान बराबर एक किलो मकैको वीउ उपलब्ध गराइएको थियो ।

सचिव पाण्डेका अनुसार वीउ लिने किशानको अभिलेख राखेको र अति विपन्न किशानको हकमा भने मकैको वीउ निःशुल्क वितरण गरिएको थियो । मकैको वीउ वितरण कार्यक्रम सम्पन्न भएपछि किशानबाट संकलित एक लाख ५० हजार रकम कृषि शाखाका तत्कालिन प्राविधिक लाक्पा भोटिया शेर्पालाई भुक्तानि समेत गरिएको सचिव पाण्डेको भनाई छ । यस विषयमा जिज्ञासा राख्दा तत्कालिन कृषि प्राविधिक शेर्पाले पनि सम्बन्धित वडाका जनप्रतिनिधिकै धारणामा सहमति जनाए ।

सतप्रतिशत अनुदान दिन नसकिए पनि धेरै किशानलाई सहुलियत दिन सकिएकोमा सन्तुष्टि मिलेको उनले बताए । किशानहरु खुशी छन् यसमा बेसरोकारका व्यक्तिहरुले गुनासो गर्नुको कुनै तुक छैन—शेर्पाले भने । उता वडा नम्वर ९ का अध्यक्ष वमबहादुर फ्याकले भने राजनीतिक प्रतिशोध साँध्न केही व्यक्तिहरुले अनावश्यक हल्ला मच्चाएँको भन्दै आक्रोश व्यक्त गरे ।

यस्तै, वडा नम्बर ८ का सदस्य अग्नी सुब्बा, लक्ष्मी ढुंगाना , चन्द्रा डाँगी लगायतले अनियमितता भएको आरोप लगाउनेहरु लाई सोको पुष्टि गर्न चुनौती दिए । सदस्य ढुंगानाले भने, जो जसले विरोध गरेका छन् त्यो राजनीतिक पूर्वाग्रह भन्दा अरु केही होइन ।

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्