नेपाल संवतको नयाँ वर्ष सुरु


 


new yearकाठमाडौं, कात्तिक २६

आजदेखि नेपाल संवत ११३६ सुरु भएको छ । नेवार समुदायले नेपाल संवतलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इश्वी संम्वत ८८० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

नेपाल संवतले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवतको मान्यता पाएको संस्कृतिविद सत्यमोहन जोशीले जानकारी दिए । विक्रम संवत १९६० देखि भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो ।

राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, भाेजपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कामको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत ११३६ का अवसरमा सबैको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

नेपालीको आफ्नै मौलिक संवतका रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै सबै नेपालीमा भाइचाराको भावनासमेत सुदृढ गर्न योगदान दिने राष्ट्रपतिकाे विश्वास छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११३६ को अवसरमा शुभकामना दिँदै यो संवत नेपालीको संवत भएको बताएका छन् । ऋणमा डुबेका नेपालीलाई शङ्खधर साख्वाले ऋणमोचन गराई सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक संवत् भएको जनाउँदै उनले राष्ट्रिय विभूति साख्वाप्रति सम्मानसमेत व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रका नाममा सुरु भएको नेपाल संवत् कुनै शासनको नाममा नभएकाले पनि नागरिकको संवत् भन्ने स्पष्ट हुने बताए ।

प्रकाशित मिति: २६ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्