सप्तरीमा अज्ञात समुहद्धारा प्रहरी हवल्दारमाथि गोली प्रहार


 


सप्तरी, माघ ३

सप्तरीको खड्ग नगरपालिकाको बिसनपुरा चोकमा एक प्रहरी हवल्दारमाथि गोली प्रहार भएको छ । बुधबार साँझ प्रहरी हवल्दार महेन्द्र सतरामाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।

विसनपुरस्थित पूर्वपश्चिम राजमार्ग छेउछाउमा सञ्चालित भट्टी पसल बन्द गराउने क्रममा उनीमाथि मोटरसाइकलमा दुई जनाको संख्यामा आएका बन्दुकधारीले गोली प्रहार गरेको बताइएको छ ।

उनको पिठ्यूमा गोली लागेको छ भने उपचारका लागि विरानगर पठाइएको छ । घाइते हवल्दार लक्ष्मीपुर प्रहरी चौकीमा दरबन्दी भई हाल विष्णपुरमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सबै नाकाहरु सिल गरेर खोजी कार्य तीब्र पारेको डीआईजी पालले जानकारी दिए । घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा भेटिएको जनाइएको छ ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्