अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार गर्ने नुवाकोटकी कान्छीमाया काठमाडाैँबाट पक्राउ
काठमाडाैँ । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङ्कङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ ।
पक्राउपर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । दुई वटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङ्कङ पठाउने क्रममा आज सोे चरेस फेला परेको हो ।
“प्याकेट जोख्दा अस्वभाविक तौल फेला परेपछि कर्मचारीले खबर गर्नुभयो, तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेला प¥यो”, जोशीले भन्नुभयो । मेसिनले पेलेर पातलो बनाई कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४८ प्याकेट अगरबत्तीसमेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २ माघ २०७५, बुधबार