‘गिरिजा र सुशीलको नामका अस्पताल विघटन गरिए सडक र सदन अबरुद्ध गर्छौं’: रामचन्द्र पौडेल


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप लगाएका छन् ।

सोमबार अपरान्ह सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता पौडेलले सरकारले तनहुँको बेलौरी चौतारीमा रहेको गिरिजाप्रसाद कोइराला श्वाँसप्रश्वास अस्पताल र बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको भन्दै कडा आपत्ति जनाए ।

नेता पौडेलले भने,‘स्वास्थ्य मन्त्रालयले दुवै अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको हामीलाई जानकारी आएको छ । यो निर्णयलाई प्रधानमन्त्री ओलीले तत्काल सच्याउनुपर्छ । निर्णयमा पुनविचार गरोस् । यो नेपाली काँग्रेसको अस्तित्वमाथिको प्रहार हो ।’

यस विषयमा आफूहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोजेपनि समय नपाएको गुनासो पौडेलले गरे । ‘सहयोगीले भोलिलाई भेट्न मिलाउँला भन्नुभएको छ, यदि सरकारले ती अस्पताल विघटन ग¥यो भने सडक र सदन अबरुद्ध गर्छौं,’ पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले डा. गोविन्द केसीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण समेत गराए । उनले माघ ४ गतेदेखि संसदमा कांग्रेस सशक्त रूपमा प्रस्तुत हुने बताए ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्