धारिलो हतियार प्रहार गरी मेयरको हत्या


 


एजेन्सी, माघ १

पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ । परोपकारीसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयर पावेलमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ । सयौं मानिस सहभागी कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पताल र्पुयाइएको थियो । अस्पतालमा उहाँको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । उनले पत्रकारको परिचयपत्र बनाएर मेयरलाई भेट्दै आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ परेका व्यक्ति यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप प्रहरीको छ । मेयर पावेल अडमोविजको हत्याको विरोधमा देशभर प्रदर्शन भएको छ ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्