अपराध नियन्त्रणका लागि बिद्यालय र समुदायमा उर्लाबारी प्रहरी


 


उर्लाबारी, पुस ३०

उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको सरुवा भएपछि २०७५ जेठ १६ गते १ नं. प्रदेश प्रहरी तालिम केन्द्रबाट सरुवा भएर आए प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना । सरुवा भएर उर्लाबारी आएपछी तिमल्सिनाले नगरका सबै सरोकारवालाहरुसँग भेटघाट कार्यक्रमको आयोजना गरेर उद्घोष गरेका थिए – ढुक्क हुनुहोस्, म उर्लाबारीमा न्याय मर्न दिँदिन ।

प्रहरी निरीक्षक तिमल्सिना सरुवा भएर उर्लाबारी आएको ७ महिना बितिसकेको छ । सामाजिक कार्यक्रमहरुमा आफुलाई पनि घुलमिल हुन रुचाउने प्रहरी निरीक्षक तिमल्सिनाले अपराधी सानो ठुलो जो भएपनि कानूनी कारबाही गर्ने दृढ बोक्ने गरेको पाईएको छ । यसअवधिमा दशैँ, तिहार र छठ पर्वमा उर्लाबारीको शान्ति सुरक्षा सदृढ भएको थियो भने नगरमा हुने गरेका बेथितीहरुलाई पनि उनले नियन्त्रणमा लिने प्रयाश गरिरहेका छन् ।

केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय संघसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन ।

कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ । आफन्त, छरछिमेक र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि उर्लाबारीमा सरुवा भएर आएदेखी नै प्रहरी निरीक्षक तिमल्सिनाले उर्लाबारी र मिक्लाजुङ क्षेत्रका विद्यालयहरूमा लागूऔषध, लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले बिद्यालयमा मात्र नभएर समुदायमा प्रहरीको विषयमा बुझ्न समुदायसँग चिया कार्यक्रम संचालन गरेर अपराध नियन्त्रण र प्रहरी सेवाका विषयमा बुझाउने काम गरेका थिए ।

समाजमा अहिले पनि कानूनी ज्ञान र सचेतना आवश्यक रहेकाले भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा र समुदायसँग प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक तिमल्सिनाले बताएका छ्न । अहिले आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिले यौनजन्य अपराधका घटना तथा हिंसा वृद्धि गराएको पाइएकाले यसबाट सचेत रहन के गर्ने र के–कस्ता गतिविधि गरे कानूनअनुसार दण्डित होइन्छ भन्ने विषयमा विद्यार्थीलाई सचेतना शिक्षा दिँइदै आएको उनको भनाइ थियोे ।

साथैँ किशोर अवस्थामै धेरै युवायुवती लागूऔषधमा फसेर पछि समाजमा उनीहरुबाट अपराधका घटना हुने गरेकाले किशोर अवस्थामै त्यसको न्युनिकरणका लागि बिद्यालय तहमा लागूऔषध सचेतना कार्यक्रम संचालन गरिएको हो । उर्लाबारी १ को शारदा मावि, उर्लाबारी ६ को राधिका मावि, उर्लाबारी ८ को अरनिको मावि, मिक्लाजुङ ३ को कलिका सामुदायिक मावि, मिक्लाजुङ ७ को मनोहर जनता माविसहित निजि बिद्यालय उर्लाबारी ७ को पशुपति आवशिय मावि र उर्लाबारी ४ को सप्तकोशी इङ्लिस बोर्डिङ स्कुलमा कक्षा संचालन गरिएको हो । अन्य सामुदायिक तथा निजि बिद्यालयहरुमा पनि कक्षा संचालनको तयारी भईरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।

यस्ता कक्षा सञ्चालन भएपछि किशोरकिशोरीले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने देखिएको छ । प्रायः माध्यामिक तहमा अध्ययनरत विद्यार्थी सानै उमेरमै लागु औषधकोे दुव्र्यसनमा फस्ने गरेको प्रहरीको भनाइ छ ।

यस्तो क्रियाकलापमा पक्राउ पर्नेमा १२ देखि २३ उमेर समूहका बालबालिका सहितका व्यक्ति रहेकाले पनि विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरिएको हो । प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्नेछ ।

प्रकाशित मिति: ३० पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्