‘जनताको पक्षमा काम नगर्ने कांग्रेस वा कम्युनिष्ट दुवैको काम छैन’


 


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने कांग्रेस वा कम्युनिष्ट दुवैको काम नहुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले जनताको पक्षमा काम नभएमा कांग्रेस वा कम्युनिस्ट कुनै पार्टीको पनि महत्व नहुने बताएका हुन् । ‘साइनबोर्ड कसले के राखेको छ भन्ने कुरा जनतालाई धेरै अर्थको कुरा हुँदैन । राष्ट्रलाई, जनतालाई कसले के दियो सामाजिक रुपान्तरणमा कसले के दियो भन्ने कुराबाट त्यसलाई जाँचिन्छ’ प्रचण्डले भने ।

विगतमा जस्तो हत्या हिंसा र सरकार परिवर्तन भइरहने अवस्था नरहेको भन्दै प्रचण्डले यो अवसरको सदुपयोग गर्न नसकेमा फेरि देश उल्टो दिशामा जाने खतरा हुने बताए । ‘त्यो अवसरलाई सदुपयो्ग गर्दै जनताको पक्षमा उपयोग गर्न सकिएन भने, त्यहाँ बुर्मयाङ गर्छ । उल्टो दिशामा जाने खतरा हुन्छ ।’

जनताप्रति इमान्दार हुँदासम्म कुनै पनि पार्टी र नेताको औचित्य हुने भन्दै प्रचण्डले इमान्दार नभएमा पार्टी र नेताको औचित्य सकिने बताए ।

प्रचण्डले आफूसँग सक्रिय राजनीति गर्ने समय एक दशकमात्र रहेको बताए । कार्यक्रममा उनले सक्रिय राजनीति, समाजसेवा वा जनताको पक्षमा काम गर्ने समय एक दशकमात्र रहेको बताएका हुन् । आफू जीवनको उत्तरार्धमा रहेको भन्दै प्रचण्डले भने ‘अब सक्रिय रुपमा राष्ट्रको सेवा गर्ने एक दशकमात्रै होलाजस्तो लाग्छ, सबै कुरा एजइटइज रह्यो भने । हुनत मान्छेको जीवनको भर हुँदैन ।’
आफ्नो र देशको जीवनमा हरेक १० वर्षमा ठूला ठूला परिवर्तन भएको भन्दै प्रचण्डले अबको १० वर्ष देशको समृद्धि र जनताको जीवनमा सकारात्मक आर्थिक परिवर्तन ल्याउनका लागि उपयोग गर्ने बताए । ‘म आफ्नो कर्मले गर्दा मधेस, पहाड, हिमाल, महिला सबै समुदायले मलाई विश्वास गर्ने आधार छ’ उनले भने ‘मैले ऋण चुक्ता गर्ने समृद्धिको यात्रामा समाहित भएर नै हो ।’

आफूले भयानक खुशी र गर्व तथा भयानक पीडाको क्षण पनि ब्यहोरेको भन्दै प्रचण्डले अब राष्ट्र निर्माणमा नयाँ संकल्पका साथ लाग्ने उद्घोष गरे ।

मुलुकमा अहिले धेरै परिवर्तन भएको भन्दै प्रचण्डले यो दिगो भने भइनसकेको बताए । ‘के हो, के हो भन्याजस्तो फेरि पनि छ’ उनले भने ‘जबसम्म यो परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन र्गयो भन्ने महसुस हुदैन, यी सबै चिजलाई जनताले महत्व दिँदैन ।’उज्यालो नेपालबाट

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्