अब गोविन्द केसीको बाटो कता ? चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदै,


 


काठमाडौं शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ ।

संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले मध्यान्ह १२ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन सहित पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ । समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने व्यवस्था समेटिएको छ । सो विधेयकमाथि समितिको निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने फरक मत राखेको थियो ।

समितिले प्रतिवेदन अनुमोदन गरेसँगै आफ्ना माग सम्वोधन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी इलाम पुगेर १६ औं चरणको अनसन सुरु गरेका छन् । अनशनको पाँचौ दिन जारी रहँदा उनको स्वास्थ्य अवस्था भने बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

यसैबीच प्रतिनिधि सभाको आजको बैठकबाट अघिल्लो अधिवेशन मै छलफलमा आएका तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ । राष्ट्रिय सभाबाट आएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयक तथा प्रतिनिधि सभा मै उत्पन्न भएका निवृत्तिभरण कोष विधेयक र भुक्तानी तथा फस्र्यौट विधेयक पारित गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

तीन वटै विधेयक गत साउनमा संघीय संसद सचिवालयमा दर्ता भएर सैद्धान्तिक छलफल भएपनि संसद अधिवेशन अत्य हुँदा समितिमा दफावार छलफल हुन बाँकी थियो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक टेवल गर्ने कार्यसुची छ भने नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयकमाथी सैद्धान्तिक छलफल हुने सहप्रवक्ता अर्यालले बताए ।

सरकारका केही मन्त्रीहरुले केसीले अनशन बस्नुको कुनै औचित्य नरहेको बताएका छन् । एक जना मन्त्रीले केसीले अनशन बस्नुको सट्टामा बरु खुसियाली मनाउनुपर्ने धारणा राखेका छन् । सरकारले डा. केसीका सबै माग पूरा भएको दाबी गर्दै आएको छ । इलाममा अनशनरत डा. केसीले यो विधेयक संसदबाट पनि पारित भइसकेकापछि कस्तो बाटो रोज्लान भन्ने धेरुैले आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्