भक्तपुरमा आएको विकासको बिरोध नगर्न नेमकिपालाई महेश बस्नेतको आव्हान


 


भक्तपुर, पुस २९ भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघले राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई रु ३० हजार नगद सहित यसवर्षको “युवा पत्रकारिता पुरस्कार–२०७५” बाट सम्मान गरेको छ ।

डेढ दशकदेखि भक्तपुरमा रहेर निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्रतिनिधि सभाका सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले उहाँलाई खादा ओढाएर नगद सहितको सम्मान पत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा उहाँले नेपालको काष्ठकला, मूर्तिकला, धातुकला, फर्निचरसंग विश्वमा कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउदै यस्ता कालीगढ भक्तपुरमा मात्रै हुनु गौरबको कुरा भएको बताउनुभयो ।
उहाँले हरियो वन नेपालको धन भनिएपनि जंगलमा काठ कुहिएर खेर गएको बताउदै यसलाई सदुपयोग गर्न वनलाई उद्योगको रुपमा विकास गर्ने योजना सरकारले ल्याएको बताउनुभयो ।

चीन र भारतमा मात्रै नभई विश्व मै नेपालको कला र सीपको प्रर्दशन एवं माग भईरहेको बताउदै उहाँले नेपालमा भने पछिल्लो पुस्तालाई सीप हस्तान्तरण गर्न चुनौती आईरहेको बताउनुभयो ।
सांसद बस्नेतले सीपको मापन र तालिम एवं आधुनिक प्रबिधिको हस्तान्तरण आवश्यक रहेको औल्याउदै स्वदेशी बस्तुको उपयोगिता निर्देशिका लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बस्नेतले नेपाल मजदुर किसान पार्टीलाई भक्तपुरमा आएको विकासको बिरोध नगर्न आव्हान गर्नुभएको छ ।

उहाँले विकासमा एकताबद्ध भएर आउन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो–“भक्तपुरमा आएका अन्तर्राष्ट्रिय रंगशाला लगायत ठूला विकासका योजनाहरुको बिरोध गर्दै आईरहेको छ, अब चारवर्ष हामीसंग विकासमा एकताबद्ध हुन आउनुहोस, त्यसपछि चुनावमा तपाईको पार्टीसंग राजनीतिक प्रतिस्पर्धामा उत्रिउला ।”
विकासबाट भाग्दै गएको नेमकिपाको विरोध कै कारण ३ नं। प्रदेश राजधानी भक्तपुर घोषणा हुनबाट रोकिएको बताउदै उहाँले भक्तपुरमा आउँन लागेका विकासका योजना फेरी फर्कने अबस्था आए नेमकिपालाई जनताले माफ नगर्ने बताउनुभयो ।
सांसद बस्नेतले ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भएको,मनोहरा पुल सूर्यविनायकसम्म अरनिको राजमार्गमा सयौं सौर्य बत्ति जडान गर्दै उज्यालो भक्तपुरको सपनालाई साकार पार्ने अभियान सुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४६ औ हप्ता र अरनिको राजमार्ग सफाई अभियान निरन्तर चलिरहेको, मध्यपुरथिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुनु लागेको, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको, मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा जिल्लामा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको बताउनुभयो ।

उहाँले जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने सिंगो भक्तपुरलाई सफा र पर्यटकीय जिल्ला बनाउने आफनो योजना सुरु भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्वदेशी फर्निचर उद्योगको विकासमा स्थानीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाल फर्निचर एवं फर्निसिङ्ग व्यवसायी महासंघका उपाध्यक्ष सुजिल श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख सूर्यप्रसाद पोखरेल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति लगायतले स्थानीय उद्योग व्यवसायको विकास प्रबद्र्धन गर्न सके रोजगारी समस्या समाधान हुने बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष प्रदीप श्रेष्ठले फर्निचार तथा फर्निसिङ्ग उद्योगमा संघीय, प्रदेश र स्थानीय सरकार तथा आन्तरिक राजसव कार्यालयलाई कर तिर्नुपर्ने अबस्थाको अन्त्य भई स्थानीय सरकार र आन्तरिक राजस्वलाई मात्रै कर तिर्ने व्यबस्था गरिनुपर्ने माग राख्नुभयो ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्