माघ १ गतेदेखि झापामा मदिरा खान नपाइने !


 


(पार्थ मण्डल) भद्रपुर । आगामी माघ १ गतेदेखि झापालाई मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रुपमा घोषणाका गर्न सरोकारबाला निकायले सामूहिक १२ बुँदे प्रतिवद्धता जनाएका छन् ।

झापाको कनकाई नगरपालिकामा बुधवार जिल्ला प्रहरी कार्यालय झापा र सरकारी वकिल कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको झापामा अपराधको स्थिति, कारणहरु र निराकरणमा सरोकारवाला निकायको भूमिका बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारबाला निकायले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

झापाका अधिकांश अपराधिक घटनाहरु मादक पदार्थ सेवनबाट हुने गरेको निष्कर्श निकाल्दै १२ बुँदे प्रतिवद्धता अनुसार विद्यमान कानून कार्यान्वयन कडाईका साथ गर्न सामुहिक प्रतिबद्धता सुनिश्चितता गर्ने, मदिरा बिक्री केन्द्रको संख्या नियन्त्रण गर्ने तथा मदिरा बिक्री गर्ने समय (१० बजेलाई) सशोंधन गर्न पहल गर्ने, तोकिएको उमेरका व्यक्तिहरुलाई मात्र मदिरा बिक्री वितरण गर्ने व्यवस्थालाई कानूनद्धारा नियमन गर्न पहल गर्ने र मदिरा किन्न आउने व्यक्तिको परिचय अनिवार्य गर्ने, स्थानीय प्रशासन तथा स्थानीय तहबाट स्वीकृत दिने मेलापर्व, कार्यक्रम, कन्सर्टहरुमा मदिरा बिक्री वितरण निषेध हुने गरी मात्र स्वीकृति दिने, जिल्ला, नगर तथा वडा स्तरीय मदिरा नियन्त्रण अनुगमन समिति बनाई निरन्तर अनुगमन गर्ने, अस्पताल, मन्दिर, शैक्षिक संस्थाहरुको निश्चिात दुरी भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने, संचारमाध्यमहरुले मदिराजन्य पदार्थहरुको प्रयोगलाई नियन्त्रण गर्ने प्रकृतिका सामाग्रीहरु प्रकाशन र प्रशारण गर्ने कार्यलई बिशेष प्राथमिकता दिने, नेपाल–भारत सीमानाको निश्चित (५०० मिटर) दुरी भित्र मदिराजन्य पदार्थ विक्री वितरण गर्न निषेध गरिने, मदिराजन्य पदार्थ उत्पादन गरी जीबिकोपार्जन गर्ने परिवार पहिचान गरी बैकल्पिक व्यवस्था गर्ने तर्फ स्थानीय तहबाट बिशेष पहल गरिने, नीति निर्माण, कार्यान्वयन र अनुगमन गर्ने निकायले आपसी समन्वयका आधारमा मदिरा नियन्त्रण कार्यलाई थप व्यवस्थित बनाउने, झापा जिल्लाका १५ वटै स्थानीय निकायहरुले आपसी समन्वय गरी कम्तिमा एउटा सुधार तथा पुनः स्थापना केन्द्र स्थापना गर्नका लागि आवश्यक पहल गर्ने र जिल्लालाई माघ १ गते देखि मदिरा नियन्त्रित जिल्लाको रुपमा घोषणा गर्न बिभिन्न छलफल, अन्तरक्रिया, प्रचारप्रसार गरिनेमा सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
महान्याधिवक्ता अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेशसभाका सांसदहरु, नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, पत्रकार तथा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यस्तो छ जिल्लाको मादकपदार्थ सेवनबाट हुने घटना विवरण

जिल्लामा अपराधको स्थिति, यसका प्रमुख कारण र निराकरणका लागि अपनाउनु पर्ने बिषय वस्तुको बारेमा कार्यक्रममा अवगत गराउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले चालु आर्थिक बर्ष साउनदेखि कार्तिक ६ गतेसम्म जिल्लामा ३७६ अपराधका घटनामध्ये ७३ वटा घटना मादक पदार्थ सेवनबाट घटेको बताए ।

त्यस्तै चालु आर्थिक बर्ष असोज मसान्त सम्म जिल्लभरीका प्रहरी कार्यालयमा जम्मा १८६५ वटा बिभिन्न घटनाको ठाडो निवेदन परेकोमा सोमध्ये मादक पदार्थ सेवनका कारण ५१३ घटना घटेको छ । प्रतिशतमा भन्नु पर्दा २७ प्रतिशत भन्दा बढी घटना मादक पदार्थ सेवनको कारणले घटेको उनको भनाई छ ।

उनका अनुसार घरेलु हिंसाका घटनामध्ये आर्थिक बर्ष ०७२।०७३ मा ९७ घटनामध्ये ६६ वटा मादकपदार्थ सेवनबाट भएका छन् । ०७३।०७४ मा १०५ वटा घटनामध्ये ७२ वटा, २०७४।७५ मा ६९ घटनामध्ये ४५ वटा र चालु आर्थिक बर्षको असोज मसान्त सम्मको २६ वटा घटनामध्ये १७ वटा मादक पदार्थ सेवनको कारणले घटेको उनले बताए ।

त्यसैगरी भदौ ३ गतेदेखि झापा जिल्लामा यौनजन्य हिंसा बिरुद्ध टोल टोलमा प्रहरी अभियान संचालन गर्नु अघि साउनमा जबरजस्ती करणी र जबरजस्ती करणी सम्बन्धी उद्योगका घटना २९ वटा घटेको थियो । अभियान संचालन पश्चात भदौमा महिनामा १६, असोजमा ११ वटा घटना घटेको देखिन्छ । यसअभियानले अहिलेसम्म ५० प्रतिशत यौनजन्य अपराधका घटनामा कमि आएको उनले बताए ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्