नेपालमा जटिल शल्यक्रिया : कलेजोमा पलाएको ५ केजीको ट्युमार निकालियो
काठमाडौं— त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ४४ वर्षे पुरुषको कलेजोमा पलाएको ५ किलो ट्युमर निकालिएको छ। कपिलवस्तुका बिरामीको कलेजोमा पलाएको उक्त ट्युमर (हेमान्जिओमा)को एक साता अघि शल्यक्रिया गरिएको हो।
शिक्षण अस्पताल कलेजो प्रत्यारोपण युनिटका प्रमुख डा रमेशसिंह भण्डारीको समुहले पहिलो पटक कलेजोमा पलाएको यति ठूलो ट्युमर निकालेको हो। यस्तो शल्यक्रिया जटिल मानिन्छ।
डा भण्डारीले भने, ‘ट्युमर धेरै नै ठूलो भएकाले सुरुमा शल्यक्रिया नगर्ने निर्णयमा पुगेका थियौँ, किनकी निकाल्न सकिदैँन भन्ने लागेको थियो, पछि बिरामीसँग कुराकानी गरी शल्यक्रिया गरेका हौँ।’ उनले शल्यक्रियाका क्रममा र त्यसपछि आउनसक्ने सबै जोखिमको समाधान गर्ने टिम समेत तयारी अवस्थामा राखेको जानकारी दिए।
बिरामीको ७० प्रतिशत कलेजो शल्यक्रिया गरी फालिएको छ।
‘शिक्षण अस्पतालमा यस्तो जटिल खाले शल्यक्रिया पहिलो पटक गरेका हौँ, हामीले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवा पनि सुरु गर्दैछौँ,’ भण्डारीले भने, ‘यो शल्यक्रियापछि हामीले अब जटिल प्रकृतिका प्रत्यारोपण पनि सफलतापूर्वक गर्न सक्छौँ भन्ने विश्वास छ।’ एक साताको बसाइपछि बिरामी बिहीबार डिस्चार्ज भर्इ घर फर्किएका छन्।
शल्यक्रियाका क्रममा कलेजो प्रत्यारोयणमा प्रयोग हुने उपकरण नै प्रयोग गरिएको बताइएको छ।
के हो त हेमान्जिओमा?
डा भण्डारीमा अनुसार हेमान्जिओमा सामान्यतया एक किसिमको कलेजो क्यान्सर हो। यो धेरै फैलिने हुदैँन, पछि गएर फेरि फैलिनसक्ने सम्भावना रहेपनि अन्य ट्युमरजस्तो तीब्ररुपमा फैलिने नभई पलाएको ठाउँमा आकार मात्रै बढ्दै जान्छ। जसले बिरामीमा दुखाइ हुने र पछि ट्युमर फुट्नसक्ने खतरा रहन्छ।
यो ट्युमर अल्ट्रासाउन्ड (युएसजी) गर्दा देखिन्छ। सानो ट्युमर भएमा खासै उपचार गर्न नपर्ने भएपनि आकार बढ्दै गएपछि भने शल्यक्रिया गर्नुपर्ने हुन्छ। यो ट्युमर भएमा र बढ्दै गएमा बिरामीमा पेट दुखाइ बढ्छ। स्वास्थ्य खबरपत्रिका
प्रकाशित मिति: २८ पुस २०७५, शनिबार