हतुवागढी सडक दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न मुख्यमन्त्री राई अस्पतालमा
विराटनगर, पुस २७
गत २२ गते भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङ स्थित सिरवानीमा ल्याण्डलोभर दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुझ्न प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्नु भएको छ ।
आज अपरान्ह प्रतिष्ठानमा पुगेर मुख्यमन्त्री राईले उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिनु भएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका थिए ।
अब प्रतिष्ठानमा चार जना घाइतेहरु उपचाररत छन् । घाइतेहरुको अवस्थाको बारेमा प्रतिष्ठानका पदाधिकारी र चिकित्सहरुले मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए । पछि घाइतेहरुलाई भेट्न वार्डमा नै मुख्यमन्त्री राई पुग्नु भएको थियो ।
आस्मा राई, प्रितम राई, गोपाल बस्नेत र लंकमान राई उपचाररत वार्डमा पुगेर मुख्यमन्त्री राईले उहाँहरुसँग कुराकानी गर्नुभएको थियो भने शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उपचारपछि पाँच जना घर फर्किएको प्रतिष्ठानले जनाएको छ । उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।
प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार