शेरबहादुर देउवा समूहका आठ पदाधिकारीद्धारा सामूहिक राजीनामा


 


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का आठजना पदाधिकारीहरुले पदबाट राजीनामा दिएका छन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने आठजना पदाधिकारीहरुले नेविसंघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

राजीनामा नेविसंघ अध्यक्ष महरलाई बुझाउनुपर्नेमा आठजना पदाधिकारीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

नेविसंघको अहिलेको कार्यसमितिको म्याद माघ दुई गतेसम्म रहेको छ । म्याद रहँदै आठजना पदाधिकारीले विधान विपरित पार्टी सभापतिलाई राजीनामा बुझाएका हुन् ।

नेविसंघको दुईपटक समयावधि थपिएको छ । थपिएको म्यादभित्र महाधिवेशन गर्न अध्यक्ष महरले नसकेको राजीनामा दिने समूहको आरोप छ ।

राजीनामा दिनेहरुमा उपाध्यक्ष पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको नाममात्र छ । उनको हस्ताक्षर छैन ।

नेविसघंको समायावधि भदौ २ गते सकिएको थियो । तीन महिना थप गरेर अधिवेशन गराउने जिम्मेवारी दिइएको थियो ।

त्यो अवधिमा अधिवेशन हुन सकेन । पार्टीले फेरि २ महिना थपेपछि घोषणा गरिएको समयमा अधिवशेन हुन नसक्ने देखिएपछि आठजनाको समूहले राजीनामाको घोषणा गरेका हुन् ।

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो ।

महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ ।

दुई जिल्लामा अधिवेशन उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्