अमेरिकामा आपतकालीन स्थिति घोषणा गर्ने ट्रम्पको चेतावनी


 


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिएका छन् । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि संघीय सरकारी कार्यालयहरू लगातार बन्द भएको २१ दिन पुगिसकेको छ ।

राष्ट्रपति ट्रम्पले पर्खालका लागि संसदले बजेट पारित नगरे आफूले बजेट स्वीकृत नगर्ने अडान राख्दै आएका न् । संसद र राष्ट्रपतिको जुहारीका कारण धेरै अमेरिकी संघीय कार्यालयहरू बन्द भएका छन् भने आठ लाखभन्दा बढी कर्मचारी घरबिदामा बसेका छन् ।

राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरिए त्यसविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । आपतकालीन घोषणापछि राष्ट्रपति ट्रम्पले सैनिक परियोजनाको रकमलाई पर्खाल निर्माणमा खर्च गर्न बाटो खुल्नेछ ।

फक्स न्युज समाचार च्यानलसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्न पाउने आफूसँग अवशिष्ट अधिकार रहेको बताएका छन् । तर, उनले यस्तो घोषणा कहिले गरिन्छ भन्ने बताएनन् ।

विश्लेषकहरूले राष्ट्रपतिले चाल्ने त्यस्तो कदम अधिकार क्षेत्रभन्दा बाहिर हुने र त्यसविरुद्ध अदालतमा मुद्दा पर्ने निश्चित रहेको बताएका छन् ।

राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणाबाट पर्खाल निर्माणका निम्ति बाटो खोलेर आफूले अमेरिकी जनताको सुरक्षाका लागि काम गरेको दाबी गर्न सक्नेछन् । यो स्थितिमा उनले आफू विजयी भएको जनाउँदै कार्यालयहरू खोल्नेछन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँगको सीमाक्षेत्रको भ्रमण गरेका थिए । उनले स्थानीय सुरक्षा निकायलाई सम्बोधन गर्दै हत्याराहरूलाई अमेरिकाभित्र छिर्न कुनै पनि हालतमा नदिइने बताए ।

विपक्षी डेमोक्र्याट पार्टीले पर्खालका निम्ति राष्ट्रपतिले माग गरेको करिब ६ अर्ब डलर बजेट विनियोजन गर्न नसकिने दोहो¥याउँदै आएका छन् । उनीहरूले पर्खाल निर्माणमा फजुल खर्च हुने र त्यसबाट आप्रवासीको अमेरिका प्रवेशमा कुनै रोकावट नआउने बताएका छन् ।

ट्रम्पले दक्षिणी सीमाबाट प्रवेश गरेका आप्रवासीहरू उत्तरी सीमासम्म फैलिएको बताउँदै त्यस्ता आप्रवासीका कारण हत्याहिंसाका घटना हुन थालेको दाबी गरे । तर, स्वतन्त्र अध्ययनले अवैध आप्रवासीको तुलनामा अमेरिकामै जन्मिएका व्यक्तिबाट बढी हिंसाका घटना हुने गरेको देखाएको छ ।

अमेरिकी संघीय कार्यालयहरू बन्द भएसँगै कर्मचारीहरूले जुलुस निकाली तत्काल कार्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि कर्मचारीलाई अचानोमा पारिएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्