छाउगोठमै जले आमा र दुई बालक


 


बाजुरा। जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा मंगलबार राति आगोले जलेर छाउगोठमै आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोका बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीय रमित बोहराको छाउगोठमा निसासिएर मृत्यु भएको जानकारी दिए ।
राति सुतिरहेका बेला आगोे सल्किँदा सिरकमा टाँसिएर मृत्यु भएको अवस्थामा आमा र दुई बालकलाई देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर गरेका थिए ।
खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेका थिए । मृतक बोहराका श्रीमान् नोकरीका सिलसिलामा विदेशमा छन् । पुस महिनाको कठ्यांग्रिँदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेकी र गोठमा भएको धुवाँ बाहिर जान नसकेपछि निसासिएर दुई छोरासहित आमाको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छाउगोठमै जलेर आमासहित मृत्यु भएका दुई बालकको अन्त्येष्टिमा सहभागी स्थानीय
‘गोठको सानो चुलोमा आगो बालिएको थियो र उनीहरूको खुट्टातिरको भाग जलेको छ, त्यहाँको प्रकृति हेर्दा निसासिएरै उनीहरूको मृत्यु भएको हुन सक्छ,’ स्थानीय महेश कार्कीले भने ।
एकाबिहानै छाउगोठमा तीन आमा छोराको मृत्युको खबरले बूढीनन्दा नगरपालिकासहित बाजुरा शोकाकुल बनेको छ ।
छाउपडी प्रथा उन्मूलको नाममा जिल्लामा वर्षौंदेखि गैरसरकारी संस्थाले करोडौं लगानी गरेका छन् तर पनि उपलब्धि भने शून्य छ । गत १ भदौदेखि लागू भएको मुलुकी देवानीसंहिताले छाउपडी प्रथालाई दण्डनीय मानेको छ तर सरकारी तवरबाट छाउपडीजस्तो कुप्रथाको अन्त्य गर्न प्रभावकारी कदम नचालिँदा नागरिकको धारणा पनि परिर्वतन हुन सकिरहेको छैन ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्