निर्मलाको ‘भेजिनल स्वाब’मा शंका वैधानिकता जाँच्न आमाको रगत लिइयो


 


काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी छन् । हत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको छोरीको भेजिनल स्वाबमा शंका लागेको भन्दै उनले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रसचेकका लागि रगतको नमुना दिएकी हुन् ।
प्रहरीले बुधबार नै दुर्गादेवीको डीएनए जाँचका लागि रगतको नमुना लिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मलाकी आमाले छोरीको भेजिनल स्वाब चेकजाँच गर्न भन्दै आफ्नो रगतको नमुना महाकाली अञ्चल अस्पतालमा बुझाएको बताए । ‘निर्मलाकी आमाले आफ्नो रगतमार्फत निर्मलाको भेजिनल स्वाबको वैधानिकता चेकजाँच गरी पाऊँ भनी निवेदन दिएपछि उहाँको रगतको नमुना लिइएको हो,’ कञ्चनपुर प्रहरी प्रमुख कडायतले राजधानीसँग भने ।
उनका अनुसार रगतको नमुना बिहीबार (आज) चेकजाँचका लागि कञ्चनपुरबाट केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइनेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले निर्मलाकी आमाको रगतको नमुना लिइएकाबारे बुधबार अबेरसम्म आधिकारिक जानकारी नआएको तर लिइएको भए जुन प्रयोजनका लागि लिइएको हो सोही प्रयोजनका लागि प्रयोग गरिने बताए । ‘अहिलेसम्म आधिकारिक जानकारी आएको छैन, लिइएको हो भने जुन प्रयोजनका लागि लिइएको हो, सोही प्रयोजनका लागि प्रयोग हुन्छ,’ प्रहरी प्रवक्ता सुवेदीले भने ।

१० साउनमा साथीको घरमा जान भनी हिँडेकी निर्मलाको ११ साउनमा घरनजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले हत्या अनुसन्धानका लागि भन्दै हालसम्म एक दर्जन बढी व्यक्तिको डीएनए परीक्षण गरिसकेको छ । तर, घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न भने प्रहरी असफल हुँदै आएको छ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले हत्यापछिको अनुसन्धानमा लापर्बाही गरेको र सुरुका प्रमाण नष्ट गर्न भूमिका निर्वाह गरेको भन्दै सेवाबाटै बर्खास्त भइसकेका छन् भने अझै केही प्रहरीहरू अनुसन्धानको दायरामा रहँदै आएका छन् । निर्मलाको न्यायका लागि भन्दै आन्दोलनमा उत्रिएकाहरूले पटकपटक प्रहरीले डीएनए परीक्षणका लागि निकालेको भेजिनल स्वाबमा नै शंका उब्जिएको भन्दै जाँच गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्