खतरनाक घेराबन्दीमा ओली


 


काठमाडौं सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओलीविरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ । देखिने गरी सरकारको पक्षमा बोल्ने, तर भित्रभित्रै ओलीलाई घेराबन्दीमा पार्ने योजना उनको आफ्नै दल नेकपाभित्र बनेको जानकारी प्राप्त भएको छ ।

वरिष्ठ नेता वामदेव गौतम खुलेआम केपीविरुद्ध सक्रिय भएका छन् भने झलनाथ खनाल शालीनतापूर्वक घेराबन्दीको निर्माणमा लागेको पाइएको छ । केही समययता प्रचण्ड केपीसँग ‘मित्रता’ बढाउँदै सरकारको रक्षा गर्न कस्सिएर लागेका देखिन्छन् । तर, उनी पनि पर्दापछाडि केपीविरुद्धको घेराबन्दी निर्माणमा लागिपरेका छन् । हुँदाहुँदा माधवकुमार नेपालसमेत सरकारको पक्षमा बोल्दै केपीलाई विस्थापित गर्ने योजनामा रहेको पाइएको छ ।

यतिखेर नेकपाभित्र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसाललगायतका नेताहरू यथाशीघ्र केपीलाई सरकारबाट हटाउने गृहकार्यमा जुटेका छन् । संसदीय दलमा बहुमत जुट्नेबित्तिकै संसदीय दलको नेता पदबाट ओलीलाई विस्थापित गरेर अघि बढ्ने योजनाका साथ उल्लिखित नेताहरू क्रियाशील भएका छन् । कतिपय मन्त्रीहरूसमेत ओलीविरुद्ध भएको र सरकारले वर्ष दिन पूरा गरेपछि नेतृत्व बदल्ने तत्परता लिन लागेको बुझिएको छ । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनको आफ्नै दलभित्र घेराबन्दी शुरु भइरहँदा दुवैतर्फका छिमेकी मुलुकहरूसँगको सम्बन्धमा पनि असन्तुलनको अवस्था पैदा भएको छ ।

एसिया प्यासिफिक (इसाई) सम्मेलनमा सरकारको सहभागिता र इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा जाने तत्परतापछि भारत र चीन दुवै मुलुकहरू केपीप्रति सशङ्कित भएको बताइन्छ । ओलीविरुद्ध योजनाबद्ध घेराबन्दी शुरु भइसकेकोले वर्तमान सरकारले तीनदेखि ६ महिनाभित्रै ‘बिदा पाउने’ अनुमान विश्लेषकहरुले गरेका छन् । घटना र विचारबाट

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्