हेर्नुहोस् ! एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री भयो


 


एजेन्सी, पुस २१

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछाबजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् ।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्वप्रसिद्ध चुकिजी माछाबजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछाबजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा २७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

‘टुना किङको नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यसअघि, सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । ‘यो सबैभन्दा उत्तम टुना हो । मैले आज अतिस्वादिलो, ताजा टुना किन्न सफल भएको छु’–जापानमा सुसी रेस्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए ।

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो । तर, हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्’–उनले बताए । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्