आफूमाथि कालोमोसो दलिएपछि के भने कंसाकारले ?


 


काठमाडौँ, पुस २१

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताउनु भएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै ट्वीटमार्फत उहाँले यस्तो बताउनु भएको हो ।

महाप्रबन्धक कंसाकारले व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष्य र साझा मूल्य मान्यतामा वचनबद्ध गराउन नसक्ने हो भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने बताउनु भएको छ ।

महाप्रबन्धक कंसाकारलाई वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस गरेको थियो ।

शुक्रबार बसेको लेखा समितिको बैठकमा भने यस विषयमा विभाजित मत देखिएको छ । वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको उपसमितिले ठहर गरेको छ ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्