विराटनगर आएर देउवाले भने : सरकार ‘सुपर फ्लप’


 


विराटनगर, पुस २०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ‘फ्लप’ मात्रै नभएर ‘सुपर फ्लप’ भएको बताउनु भएको छ । ‘सुपर फ्लप भइसकेको सरकार यहाँ भन्दा फ्लप हुने ठाउँनै छैन,’ उहाँले भन्नु भयो, ‘वाइडबडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता विषयले नै सरकार सकिदियो ।’

विराटनगर विमानस्थलमा संचारकर्मीसंग आज बोल्दै देउवाले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको बताउनु भयो । उहाँले वाइडबडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता घटनाका कारण सरकारले अन्तराष्ट्रिय स्तरमै बद्नामी बेहोर्नु परेको आरोप लगाउनु भयो ।

सरकारले कैलालीको टिकापुर घटनाका मुख्य अभियुक्त शेरम चौधरीलाई गराएको सांसदको सपथको पनि उहाँले विरोध गर्नु भयो । राजदूत फिर्ताको विषय सरकारको भएको भन्दै देउवाले कांग्रेसले यसलाई विरोध मात्रै गरेको र कांग्रेससँग फिर्ता बोलाइएका राजदूतलाई त्यहीं राखिरहन कुनै हैसियत नभएको बताउनु भयो ।

कर्मचारीका विषयमा पनि सरकार जवरजस्ती लागिरहेको उहाँको आरोप छ । देउवाले प्रदेशमा जान नमान्ने कर्मचारीलाई प्रोत्साहित गर्नु पर्ने ठाउँमा सरकारले जवरजस्ती हिसावबाट पठाउन खोजिरहेको आरोप लगाउनु भयो । उहाँले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने जिकिर गर्नु भयो ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्