अध्ययनका लागि विदेश पलायन हुने क्रम रोक्नु पर्छ : राष्ट्रपति भण्डारी


 


विराटनगर, पुस १९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा गुणस्तरीय शैक्षिक वातावरणको अभावमा अध्ययनका लागि युवा विदेश पलायन हुने क्रम बढेको भन्दै त्यसलाई रोक्नु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेपालमै गुणस्तरीय र प्रतिष्पर्धी हिसावको पठन पाठन हुँदा मात्रै अध्ययनका नाममा विदेश पलायन हुने क्रम रोकिने बताउनुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रमा धेरै चुनौतीहरु रहेको पनि बताउनुभयो । त्यही चुनौतीका कारण मुलुकले अनेक अप्ठेराहरु बेहोर्नु परिरहेको उहाँको भनाइ छ ।

उहाँले आवश्यक शैक्षिक पूर्वाधारको कमी, साधन स्रोतको अभाव, समयानुकूल पठन पाठनमा समस्या र प्रतिष्पर्धापूर्ण शैक्षिक कार्यक्रम लागू गर्न नसक्दा अध्ययनका लागि विदेश पलायन हुनेको संख्या धेरै रहेको बताउनुभयो ।

भण्डारीले शैक्षिक केन्द्रहरुलाई साधान स्रोत र पूर्वाधार युक्त बनाउनु पर्नेमा जोड दिनुभयो । विराटनगरमा आज पूर्वाञ्चल विश्व विद्यालयको २५ औं वार्षिक उत्सव एवं रजत महोत्सवको उद्धघाटन गर्दै शिक्षा क्षेत्र गुणस्तरीय हुन नसकेकै कारण वैदेशिक रोजगारीका नाममा युवा विदेश पलायन हुनु परिरहेको बताउनुभयो ।

उहाँले वेरोजगारीका कारण उच्च शिक्षा हाँसिल गरेका लाखौं युवा रोजगारीका नाममा विदेश पलायन हुनु परिरहेको बताउनुभयो । उपयुक्त शिक्षा नीति लागू गरेर उच्चतम प्रविधिका साथमा शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्दै विश्व विद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनु पर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

पढेको क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन
राष्ट्रपति विद्यादेवी भण्डारीलाई उहाँले पढेको विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज अभिनन्दन गरिएको छ । पूर्व विद्यार्थी भएको र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उहाँलाई क्याम्पसका तर्फबाट अभिनन्द गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताउनुभयो ।

राष्ट्रपतिलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरियो । राष्ट्रपति भण्डारीले २०३९ साल देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तहको अध्यन गर्नुभएको थियो ।

अध्ययनका क्रममा उहाँ २०४० साल बैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्