भारतीमा डुंगा दुर्घटनामा ९ व्यक्तिको मृत्यु, एकजना बेपत्ता
नयाँ दिल्ली : पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुंगा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो दुर्घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको छ ।
प्रान्तीय राजधानी उडिसाको भुवनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाकामा स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो । बुधबार बेलुका ५५ व्यक्ति सवार रहेका सो डुंगा हुकितोला द्वीपमा बनभोज खाएर फर्किरहेका अवस्थामा माहानदी नदीमा दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
डुंगामा सवार ४५ जनालाई जिवीतै उद्धार गरिएको र १० जना अझै वेपत्ता रहेका थिए । गएराति रातभर गरिएको खोजीपछि नौ व्यक्तिको शव भेटिएको र अर्का एक जना अझै वेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ ।
यस दुर्घटनापछि सो राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिका परिवारजनलाई चार लाख भारतीय रुपैयाँ उपलब्ध गराइने र घाइतेलाई निःशुल्क उपचार गरिने घोषणा गरेका छन् ।
प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार