कृषिलाई रोजगारमुखी उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती : राष्ट्रपति


 


झापा, पुस १८

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औल्याउनुभएको छ ।

देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सिमित रहनु दुखद भएको बताउनुहुदै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रलाई आधुनिकरण गरेर कृषि क्षेत्रलाई व्यवसायिकरण गर्न ध्यान दिनुपर्ने औल्याउनुभयो ।

आज झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्धारा प्रवद्धित नमुना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिहरुको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले कृषि रुपान्तरणमा आर्कषित गराएर गरिवी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनु पर्ने जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले जग्गाको चक्लाबन्दी, युवाहरुको कृषिमा सक्रिय सहभागिता, कृषि शिक्षा, यान्त्रिकरणलाई विकाश गर्न कृषि सहकारी संस्थाहरुको क्षमता र हौसला बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

सहकारी अभियान देशकै नमुना भएको बताउनुहुदै उहाँले भन्नुभयो, –‘सहकारी मार्फत मुलुकको समृद्धि यात्रालाई टेवा दिन सवै क्षेत्र जुट्नुपर्छ ’ उहाँले महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा संगठित महिलाहरुको सहकारी अभियानका गतिविधिहरु सवैका लागि उदाहरणीय भएको चर्चा गर्नुभयो ।

यस संस्थाको सहकारी गतिविधिहरु सवैले अनुशरण गर्नुपर्ने उहाँको भनाई थियो । रोजगारीमा मुख्य भूमिका निर्वाह गरेको कृषिलाई जमिनको तिब्र खण्डिकरण, श्रम सम्बन्धमा आएको परिवर्तन, कृषि बजारको प्रतिस्पर्धा आदिका कारण व्यवसायिक बनाउन नसकिएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

त्यस अवसरमा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो । नगर प्रमुख रोहित कुमार शाहले अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति: १८ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्